काठमाडौं । भारतको हिमाञ्चल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान सिद्धकुमाख गाउँपालिका– २, टाकुराका दुई परिवारका सदस्य रहेको वडा कार्यालयले जनाएको छ ।
सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । सिद्धकुमाख गाउँपालिका– २ का वडासदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन् ।
यस्तै, ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र सात वर्षीय छोरा किरण विकको मृत्यु भएको वडाध्यक्ष मेकबहादुर बुढाथोकीले जानकारी दिए। उनीहरू विगत करिब दुई वर्षअघि रोजगारीका लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए ।
अहिलेसम्म पाँचजनाको शव फेला परेको छ भने बाँकी शवको खोजी कार्य जारी छ । शव तितरबितर भएकाले हालसम्म सबै शवको औपचारिक पहिचान प्रक्रिया पूरा भइनसकेको र घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन् ।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिवेला गहिरो शोकमा डुबेको छ ।
प्रतिक्रिया