धनगढी । कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । मंगलबार राति २१:२५ बजेको समयमा लम्कीचुहा नगरपालिका-१० चुहा बस्ने ५० वर्षकी कमला रावत लागुऔषधसहित पक्राउ परेकी हुन् ।
लागुऔषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा रावतको पसलमा खानतलासी गर्दा ७०० ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, हिजो नै धनगढी उपमहानगरपालिका-२ त्रिनगर भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका-५ बस्ने १९ वर्षका नवीन नेपाली समेत दुई जनालाई १३ ट्याब्लेट नाइट्राभेट र ४ क्याप्सुल स्पास नामक लागुऔषधसहित पक्राउ गरिएको छ । उनीहरु सवार सुपप्र०१०११ प ५३५१ नम्बरको मोटरसाइकल पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
धनगढी-२ त्रिनगर भन्सार कार्यालय नजिकबाटै धनगढी-७ मनेहरा बस्ने २४ वर्षका सन्दिप चौधरीलाई ८५० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया