धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा शुक्रबार प्रहरीले ५ लाख ७० हजार ३१० रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहा, गोदावरी नगरपालिका-४ वनदेवी मन्दिर नजिक र कैलारी गाउँपालिका-३ शिवरत्नपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ६४ हजार ९१० मूल्यको कस्मेटिक सामान, फेन्सी कपडा, सुर्ती, नल्का, भडावर्तन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
हिजो नै कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ५ हजार ४०० मूल्यको चिनी, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया