मकवानपुर । धुलिखेल नगरपालिका-९ मा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा लागेको आगोमा परेर एक महिलाको मृत्यु भएको छ । उद्योगमा बस्दै आएकी शंखरापुर नगरपालिका-१ नाङलेभारेकी ७० वर्षीया टिकादेवी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा सो आगो फैलिएर नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एकतले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामासमेत क्षति भएको छ ।
आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्माको अन्दाजी ८ लाख बराबरको घर, खाद्यान्न, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको थियो । राति ९ बजे सुरु भएको आगो बिहान करिब पौने २ बजे नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रतिक्रिया