महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका विपद् पूर्वतयारीमा जुटेको छ । नगरपालिकाले नेपाल राष्ट्रिय समाज कल्याण संघसँगको सहकार्यमा पालिकास्तरीय उत्थानशील युवा सञ्जाल गठन गरेको छ ।
उक्त सञ्जालले विपद्को बेला उद्धार एवम् मानवीय सहायता, सूचना प्रदान लगायत समाजिक कार्य गर्नेछ । सोमबार नगरप्रमुख पदम बोगटीको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबिच उक्त सञ्जाल गठन गरिएको हो । नगरप्रमुख बोगटीले विपद्मा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
‘विपद् पूर्व सूचना दिएर आउँदैन, विपद्बाट जोगिन हामीले पूर्वतयारी गर्नु जरुरी छ,’ नगरप्रमुख बोगटीले भने, ‘विपद्मा अशक्त, गर्भवती, सुत्केरी, वृद्धवृद्धा, बालबालिकाहरु बढी जोखिममा रहने भएकोले उहाँहरुको उद्धार तथा सुरक्षाका लागि युवाहरुको आवश्यकता एवम् भूमिकालाई मध्यनजर गर्दै यो सञ्जाल गठन गरिएको हो ।’
कार्यक्रममा नगर उपप्रमुख निलम लेखक जोशीले विपद्सँग लड्न युवाहरुको सहयोग अपरिहार्य भएको बताइन् । ‘युवाहरुबिना विपद्सँग लड्न असम्भव जस्तै हो । विपद्मा युवाहरुको सहयोग अपरिहार्य छ,’ उनले भनिन्, ‘सबै मिलेर विपद् न्यूनीकरण र विपद्सँग लड्न पूर्वतयारीमा जुट्न आवश्यक छ ।’
यस्तै, एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विकास र विपद्मा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
प्रतिक्रिया