धनगढी । बजार मागमा कमी आएकाेले सुदूरपश्चिम प्रदेशका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् भने ती उद्योगको उत्पादनमा पनि कमी आएको छ ।
पछिल्लो समयमा बजारमा देखिएको सिथिलताका कारण कर्जाको समष्टिगत मागमा कमी आई थप लगानी हुन नसकेकोले औद्योगिक क्षमता र उत्पादन दुवैमा कमी आएको हो ।
नेपाल राष्ट्र बैंकले यसै साता सार्जवनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा प्रदेशमा रहेका उद्योगको क्षमता र उत्पादन दुबैमा कमी आएको जनाएको छ ।
‘तोरीको तेल, साबुन, इँटा, चिनी र रोजिनको उत्पादन क्रमशः ५०.६८, २३.७७, २२.२२, १६.१६ र ३.४७ प्रतिशतले घटेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेको कारण उत्पादनमा ह्रास आएको देखिन्छ ।’
प्रतिवेदनअनुसार बजारमा माग नभएको कारण उद्योगहरुले आफ्नो पूर्ण क्षमता उपयोग गरी उत्पादन गर्न छाेडेका छन् । तोरीको तेल उद्योगहरुले कुल क्षमताको ५४.४५, चामल उद्योगहरुले कुल क्षमताको ४८.९१, गहुँको पीठो उद्योगहरुले कुल क्षमताको ६०.८७, चिनी उद्योगले कुल क्षमताको ७५.५८, रोजिन उद्योगले १४.९४, सावुन उद्योगले कुल क्षमताको १८.०४ र इँटा उद्योगले कुल क्षमताको ७० प्रतिशत क्षमता उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ । यद्दपि, अघिल्लो वर्षको तुलनामा यसवर्ष चामलको उत्पादन ३६.६९ प्रतिशत र गहुँको पीठो २१.७८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तेलको ८९.६९, चामलको ५.८१, चिनीको २७.०७, साबुनको १०.२० र इटाको २८.५७ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने गहुँको पीठो र रोजिनको उत्पादनमा क्रमशः ३५.१३ र १६.८४ प्रतिशतले घटेको थियो । सो वर्ष पनि उद्योगहरुले पूर्ण रुपमा क्षमताको उपयोग गरेका थिएनन् ।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा राजश्री फुड इन्डष्ट्रिजका सञ्चालक मनोज अग्रवालले माग घटेको कारण अधिकांश उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए । ‘कुनैले दिनेको २/३ घण्टा चलाएर उद्योग बन्द राखेका छन्,’ उनले भने, ‘अफिसियलली बन्द नगरेपनि धेरै उद्योग बन्दको अवस्थामा छन् । उपभोग गर्ने युवाले हो । तर, पछिल्लो समयमा नेपालबाट युवा पिढी विदेशिने क्रम बढेकोले बजारको माग धेरै घटिसकेको छ ।’
राष्ट्र बैंकका अनुसार यसआर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा एक हजार ५०५ वटा साना तथा ठूला उद्योगहरु स्थापना भएर सञ्चालनमा छन् । ती उद्योगहरुमा १८ अर्ब ८५ करोड ६० लाख रुपैयाँ लगानी गरिएको छ भने चार हजार ६२१ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । अघिल्लो आर्थिक वर्षसम्म एक हजार २०४ वटा उद्योगहरु सञ्चालनमा थिए भने चार हजार ५५५ जनालाई प्रत्यक्ष रोजगारी दिएका थिए । क्षमताको प्रयोग र उत्पादन घटाएका उद्योगहरुले जनशक्ति समेत घटाएका छन् ।
प्रतिक्रिया