ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पूर्वमुख्यमन्त्री रावलको गाडी राेकेका पन्त दिनभर प्रहरी नियन्त्रणमा, डिआइजी आफै सोधपुछमा

सोमबार १४, माघ २०८१ ०७:४६

धनगढी । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एवम् नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सवार गाडी रोकेको भन्दै एक जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३, दैजीका ४७ वर्षीय केशवराज पन्तलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार दिनभर नियन्त्रणमा राखेर बेलुका छोडेको हो । उनलाई शनिबार पनि पक्राउ गरिएको थियो । प्रहरी स्रोतका अनुसार नेता रावलको दवावमा पन्तलाई सोमबार पुनः नियन्त्रणमा लिइएको हो । 

सामान्य घटना भन्दै प्रहरीले सम्झाइबुझाई छोडेकोमा सोमबार फेरि सोधपुछका लागि भन्दै दिनभर नियन्त्रणमा राखेको हो । ‘सोमबार एकजना सई सापले मलाई जिल्ला प्रहरी कार्यालयमा लगेर जानुभएको हो,’ पन्तले भने, ‘सोधपुछका लागि धनगढीबाट डीआइजी साप पनि आउनुभएको थियो । उहाँले काम ठिक भए पनि तरिका मिलेन भन्नुभयो ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार पन्तविरुद्ध जाहेरी भने परेको छैन । ‘शनिबारकै घटनाको विषयमा सोधपुछ गर्न बोलाएका हौं,’ उनले भने, ‘जाहेरी नपरेको हुँदा उहाँलाई धेरै राख्न मिलेन ।’

गाडी रोकेको प्रतिशोध साँध्न पूर्वमुख्यमन्त्री रावलको दवावमा पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै स्थानीयले सडक अवरोध पनि गरेका थिए । उनीहरुले सोमबार दिउँसो साढे ३ बजेदेखि ४ बजेसम्म पूर्वपश्चिम राजमार्गको दैजीमा टायर बालेर सडक अवरोध गरेका थिए । 

यस्तो थियो घटना
जिल्ला प्रशासन र जिल्ला प्रहरीको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताले सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएर दुरुपयोग गरेको भन्दै पूर्वमुख्यमन्त्री रावल सवार गाडी कञ्चनपुरको दैजीमा शनिबार रोकेका थिए । दैजीमै व्यवसाय गर्दै आएका पन्त पनि त्यसमा संलग्न थिए । उनी रास्वपाका सदस्य भने होइनन् । ‘म कुनै पनि पार्टीको सदस्य होइन, मन मिल्ने उम्मेदवारलाई भोट दिन्छु, म एक व्यवसायी मात्रै हुँ,’ उनले भने ।  

उनी जयशंकर सामुदायिक वनको सचिव पनि हुन् । ‘त्यसदिन वनमा अनुगमन थियो, म अनुगमन गरेर पसलतिर फर्किदै थिएँ, त्यहाँ रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्ट, तेजसिँह ठकुल्लासहित थिए, उनीहरु व्यापारी पनि हुन्,’ पन्तले भने, ‘म रास्वपा भएर नभइ सरकारी सम्पत्ती दुरुपयोग हुन हुँदैन भन्ने मान्यता राखेर आन्दोलनमा सहभागी भएको हुँ, त्यस क्रममा पूर्वमुख्यमन्त्रीको गाडी रोक्न खोज्दा सामान्य भनाभन भएको हो ।’

गाडी रोकेर पूर्वमुख्यमन्त्रीमाथि दुव्र्यवहार भएको भन्दै उनको सचिवालयले विज्ञप्ति जारी गरेर संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको थियो ।

प्रतिक्रिया