ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध : पैदल बाटो खुल्यो

मङ्गलबार १५, माघ २०८१ ०४:४६

दार्चुला । चार दिनदेखि अवरुद्ध रहेको जिल्ला सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्गको मंगलबार पैदल बाटो खुलेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले अहिले पैदल बाटो बनिसकेको जानकारी दिइन् । उनले सडक पूर्णरुपमा सुचारु हुन भने अझै केही समय लाग्ने बताएकी छन् । 

गत शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेपछि महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भिरमा सडक अवरुद्ध बनेको थियो । पहिरोमा परी स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाइते भएका थिए । उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी रिफर गरिएको छ । स्काभेटर नदीमा फसेको छ । 

एकमात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि धनगढी, महेन्द्रनगर, काठमाडौँबाट आउने बस तथा जिपहरु किम्तडीबाट फर्किरहेका छन् । वैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवतजावत ठप्प भएको छ । सडक अवरुद्ध हुँदा सर्वसाधारणका साथै सदरमुकाम खलंगा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन् । बिहान ६ बजे विद्यालय लाग्ने र अँध्यारोमै विद्यार्थीले भिरको बाटोबाट आउँदा जोखिमपूर्ण रहेको महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक दामोदर जोशीले बताए । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सडक खुलाउन आइतबार सडक डिभिजन बैतडीलाई पत्राचार गरेपछि निर्माण व्यवसायीले सोमबार साँझदेखि पैदल बाटो खुलाउने प्रयास गरिरहेका थिए । 

प्रतिक्रिया