धनगढी । साढे छ अर्ब बढी लागतमा कैलालीको गेटामा निर्माण गरिएका भौतिक संरचना जीर्ण बन्न थालेका छन् । तीन दर्जन बढी संरचना प्रयोगमा नआएका कारण जीर्ण बन्न थालेका हुन् । नेपाल सरकारले मेडिकल शिक्षाको अध्यापन र छ सय शय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यले ती संरचना निर्माण गरेको थियो । संरचना निर्माणमा मात्रै छ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
तर अहिलेसम्म लक्ष्यअनुसार न अस्पताल सञ्चालन भएको छ न मेडिकल शिक्षाको पठनपाठन नै सुरु भएको छ । अधिकांश भवनको निर्माण सम्पन्न २०७७ र ०७८ भएको थियो । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका पूर्वकार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार कलेज भवन २०७७ र अस्पताललगायत २७ वटा भवन २०७८ मा सम्पन्न भएका हुन् । लामो समयदेखि प्रयोगविहीन भएपछि आलिसान भवन र त्यसभित्र राखिएका सामानहरु जीर्ण बन्न थालेका छन् ।
कतिपय भवन चर्किनुका साथै रङ खुइलिन थालेको छ । कतिपय ठाउँमा वर्षाको पानी चुहिएर ढुसी परेको छ । हावाहुरीले झ्यालढोकामा क्षतिपुगेको छ । भवनमा जताततै माकुराको जालो भरिएको छ । भवनवरिपरी झारपात र बुट्यानले छोपिएको छ । आँगनमा लगाइएका ब्लक बुट्यान र घाँसपातले छोपिएका छन् ।
‘करोडौँ लागतमा बनेका संरचना जीर्ण बन्न थाल्दा पनि उपयोगमा ल्याउन कसैले चाँसो नदिनु विडम्बना हो,’ पूर्वकार्यकारी निर्देशक पूजाराले भने, ‘भवनभित्र राखिएका सामान पनि अब त काम नलाग्ने भए होलान् ।’ कलेज भवनभित्र त्यतिबेलै मेडिकल शिक्षा पठनपाठनका लागि डेस्क, बेञ्च, बोर्ड, पोडियम राखिएका थिए । त्यस्तै कोठाहरुमा एसी, पंखा जडान गरिएका छन् । कोठाहरुमा पार्केटिङ गरिएको छ । अन्य भवनमा पनि एसी, पंखा, फर्निचर, पर्दा राखिएका छन् ।
लामो समय प्रयोगविहीन रहेकाले फर्निचरका सामान र पार्केटिङमा धमिरा लाग्नुका साथै एसी र पंखाहरु पनि काम नलाग्ने अवस्थामा पुग्न थालेका छन् । निर्धारित योजनाअनुसार अस्पताल र मेडिकल शिक्षाको पठनपाठन गर्न बेवास्ता गरेको सरकारले निर्मित भवनको रेखदेखमा समेत चाँसो दिएको छैन । भवन रेखदेख गर्ने कर्मचारी छैनन् ।
पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले करिब २८ वटा भवन २०७८ असारदेखि ताला लगाएर राखिएको बताए । तीमध्ये केही भवन २०७७ फागुनमै हस्तान्तरण गरिएका थिए । भवन र सामानहरु पुनःप्रयोगमा ल्याउन मर्मतसंभार गर्नुपर्ने अवस्थामा रहेका उनले बताए । मर्मतसंभार र सरसफाइमै लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने रावलले बताए ।
‘लामो समय प्रयोगविहीन रहेकाले अब प्रयोगमा ल्याउनुअघि संरचना र सामानहरु मर्मतसंभार गर्नुपर्छ । त्यतिबेलै प्रयोगमा ल्याएको भए मर्मतसंभारमा खर्च गर्नुपर्ने थिएन,’ उनले भने, ‘सरसफाइ र मर्मतसंभारमै ठूलो बजेट खर्च लाग्ने देखिन्छ ।’
पूर्वकार्यकारी निर्देशक पुजाराका अनुसार सरकारले चाहेको भए पठनपाठन र अस्पताल २०७८ सालमै सुरु गर्न सकिन्थ्यो । गेटामा मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये के बनाउने भन्ने विषयमा लामो समयको विवादकाबीच अघिल्लो सरकारले गेटामा सहिददशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर राष्ट्रिय सभाबाट पारित त्यस सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक वर्षदेखि थन्किएको छ । विधेयक अगाडि बढाउन सरकारले चाँसो दिएको छैन ।
सरकारले गतवर्ष कार्तिकदेखि गेटामा ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । तर जनशक्ति र उपकरणको अभावले अस्पतालले स्तरीय सेवा दिन सकेको छैन । जसले गर्दा अस्पताल पुग्ने सेवाग्राहीको संख्या पनि न्यून छ । सरकारको प्राथमिकतामा नपर्दा अस्पतालमा हालसम्म आकमिस्क सेवा नै सुरु भएको छैन । अस्पतालमा कतिपय उपकरणहरु जडानको क्रममा छन् । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेय गेटामा तत्काल सय शय्याको अस्पताल सञ्चालन गरिदिए मात्र पनि सुदूरपश्चिमका जनतालाई ठूलो राहत पुग्ने बताउँछन् । राज्यको ठूलो लगानीमा बनेका संरचना चार÷पाँच वर्षसम्म अलपत्र पर्नुले सुदूरपश्चिममा राजनीतिक नेतृत्व नै छैन की भन्ने अनुभूति यहाँका नागरिकले गरिरहेको उनले बताए ।
‘सुदूरपश्चिमबाट यतिका मन्त्री, सांसद छन् । उनीहरुलाई कुनै मतलब छैन,’ पाण्डेयले भने, ‘देशभरि २५ वटा मेडिकल कलेज, प्रतिष्ठान हुँदा सुदूरपश्चिममा एउटा पनि छैन । बरु गेटामा संरचना अलपत्र छन् । सुदूरपश्चिम नेतै नभएको जस्तो देखियो ।’ एउटै स्तरीय सरकारी स्वास्थ्य संस्था नहुँदा सुदूरपश्चिमका नागरिक अहिले पनि उपचारका लागि भारत जान बाध्य छन् । गेटामा बनेका संरचना र संरचनाभित्र राखिएका सामानहरु जीर्ण अवस्थामा रहेका उनले बताए । विश्वविद्यालय सम्बन्धी विधेयकछिट्टै आउनेमा आफूहरु आशावादी रहेको पाण्डेयले बताए ।
गेटामा भएकै अस्पतालको सेवाको स्तरोन्नति हुन नसकिरहँदा सरकार र राजनीतिक नेतृत्वबाट भने पटकपटक अनुगमन र निरीक्षण हुने गरेको छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक दलका प्रभावशाली नेताहरु सुदूरपश्चिम आउँदा गेटाको निरीक्षण गर्न छुटाउँदैनन् । सरकारले शिक्षा मन्त्रालयअन्तर्गत मेडिकल कलेजका नाममा गेटामा भौतिक संरचना निर्माण गरेको हो । पूर्वकार्यकारी निर्देशक पुजराका अनुसार सानाठूला भवन र अन्य गरी गेटामा करिब ५३ वटा संरचना निर्माण गरिएका छन् । शिक्षा मन्त्रालयअन्तर्गत निर्मित भवन कसले प्रयोग गर्ने भन्नेमा समेत शिक्षा र स्वास्थ्य मन्त्रालयबीच मतभेद देखिन्छ ।
शिक्षा मन्त्रालयले अस्पताल भवन, अक्सिजन प्लान्ट भवन, कुरुवा घर, शव गृहसहित आठ वटा भवनको भोगााधिकार अस्पताललाई दिएको छ । ‘सरकारी बेवास्ताले अस्पताल र मेडिकल शिक्षा सञ्चालनमा ढिलाइ भएको छ, भौतिक संरचना कसले प्रयोग गर्ने भन्नेमा पनि स्वास्थ्य र शिक्षामन्त्रालयबी चद्वन्द्व देखिन्छ,’ पूर्वाधार विकास समितिका एक पदाधिकारीले भने । गत २३ मंसिरमा गेटाको निरीक्षणमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयले भवन हस्तान्तरण गर्न कन्जुस्याइ गरेको संकेत गरेका थिए । ‘शिक्षा मन्त्रालयले यहाँका पूर्वाधार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरे हुन्छ । भोलि विश्वविद्यालयको प्रकृया पुरा भएर सञ्चालन हुने देखिए स्वास्थ्यले शिक्षालाई फिर्ता गर्छ,’ उनले भनेका थिए । निरीक्षणका क्रममा उनले गेटामा तत्काल विश्वविद्यालय स्थापना गर्न सक्ने अवस्था नरहेको धारणा राखेका थिए ।
प्रतिक्रिया