ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निर्मला हत्या प्रकरण: गृहमन्त्रीको फेरियाे बोली

शनिबार ०८, मङि्सर २०८१ ०८:१९
  • सत्ताबाहिर हुँदा भन्थे– निर्मला पन्तको बलात्कारपछि हत्या भएको अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असफलता हो । यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।
  • अहिले आफै गृहमन्त्री हुँदा भन्छन्– अुसन्धान भइरहेको छ र त्यसले निरन्तरता पाउँछ । थप अनुसन्धान पनि हुन्छ ।

धनगढी । छ वर्षअघि कञ्चनपुरको भीमदत्तनगरकी किशोरी निर्मला पन्तको बलात्कार गरी हत्या भएपछि संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दवाव दिनेमध्ये अग्र मोर्चामा थिए काँग्रेसका प्रभावशाली नेता रमेश लेखक ।‘निर्मलाको न्यायका लागि’आन्दोलनसमेत गरेका लेखक अहिले गृहमन्त्री छन् । 

आफ्नै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि राज्य सत्ताको नेतृत्वमा पुगेपछि पीडित परिवार न्याय पाउनेआशमा छन् । तर, लेखक गृहमन्त्री बनेको पाँच महिना पुग्नै लाग्दा न दोषी पत्ता लागे, न नयाँ शिराबाट घटनाको अनुसन्धान थालिएको छ । बरु गृहमन्त्री लेखक अहिले निर्मला प्रकरणबारे खुलेर बोल्न चाँहदैनन् ।

बिहीबार धनगढीमा भएको पत्रकार सम्मेलनमा अन्य विषयका जिज्ञासाको जवाफमा लामो भूमिका बाँधेका लेखकले निर्मला हत्या घटनाबारे भने संक्षिप्त जवाफ दिए ।‘निर्मला बहिनीको बलात्कारपछि हत्या भएको लामो समय भइसकेको छ,’ लेखकले भने, ‘तथापि अनुसन्धानलाई जारी राख्नुपर्छ ।’ उनले यसबारे थप बोल्न चाहेनन् ।

निर्मला लेखकको निर्वाचन क्षेत्रकै बासिन्दा थिइन् । अहिले कञ्चनपुरबाटै प्रतिनिधित्व गर्ने सांसद गृहमन्त्री रहेकाले उक्त हत्या प्रकरणको अनुसन्धान टुङ्गोमा पुग्नेमा पीडित परिवारसहित धेरैको आशा छ । 

अहिलेआफै गृह प्रशासनको कमाण्ड सम्हालिरहेका लेखकले कुनै बेला भने निर्मला प्रकरणमा हत्यारा पत्ता लाग्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा नै मागेका थिए ।‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका दिन बित्दा पनि हत्यारा पत्ता लगाउन नसक्नुको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ,’ घटनाको केही महिनापछि काठमाडौँमा भएको पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘अपराधी पत्ता लगाउन नसक्नु सरकारको असफलता हो ।’ यद्यपि अहिले उनले यो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् ।

 
बलात्कारपछि हत्या, उखु बारीमा शव

साथीको घर गएकी उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते बेपत्ता भएकी थिइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखु बारीमा उनको शव फेला प¥यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह बिष्टलाईअभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । स्थानीयले बिष्ट दोषी नभएको भन्दै आन्दोलन गरे । डीएनए ‘म्याच’नभएपछि बिष्ट छुटे ।

नक्कली व्यक्तिलाई उभ्याएर वास्तविकअपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्टसहितका प्रहरी बर्खास्त भए । 

विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी बिष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाइसकेका छन् । सीआइबीले पटकपटक अनुसन्धान टोली पठाए पनिअभियुक्त भने पत्ता लगाउन सकेको छैन । 

प्रतिक्रिया