धनगढी । कैलालीमा गोरु र राँगासहित ८ लाख मूल्य बढीको अवैध सामान बरामद गरिएको छ । प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानबाट ८ लाख २३ हजार ३० मूल्य बराबरको अवैध भन्सार छलीको समान बरामद गरिएको हो ।
सोमबार साँझ प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-२ आदर्श चोकमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५ लाख ७१ हजार ५०० मूल्यको आइफोन ७ थान, आइफोन कभर ५ थान, आइफोनको डाटा केवल ९ थान र ईजिजे ट्याक १ थान बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
त्यसैगरी, टीकापुर नगरपालिका-९ बालुवाटारस्थित टीकापुर-खक्रौला सडकखण्डमा इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले ग्यास चुलोका पाटपुर्जा, प्रेसर कुकरका सामग्रीहरु र तीन ओटा साइकल गरी अन्दाजी ५६ हजार ५३० मूल्यको सामान बरामद गरेको जनाएको छ ।
भजनी नगरपालिका-५ कालिका सामुदायिक वन नजिकै पर्ने डाक्टरघाटको अवैध बाटो प्रयोग गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पृथ्विपुर कैलालीको टोलीले दुई राँगा, चार गोरु र तीन थान डल्लब गरी १ लाख ९५ हजार बराबरको गोरु, राँगा र डल्लब नियन्त्रणमा लिई भन्सार कार्यालय पठाउने काम भइरहेको जनाएको छ ।
प्रतिक्रिया