धनगढी । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न भएको छ।
बेरोजगार युवाहरुलाई सीप तालिम सिकाएर रोजगारमा जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा एक महिनासम्म सीप तथा १० दिनको रोजगार परामर्श तालिम दिई बुधबार सम्पन्न भएको हो । मेला माघ ५ गतेदेखि बुधबार (फागुन १३ गते) सम्म सञ्चालन भएको थियो ।
सुदूरपश्चिम प्रदेशका ८४ स्थानीय तहका ६०० युवायुवतीले २२ वटा विधामा तालिम दिएको मेला अवधिमा १४५ जना कामदारको माग आएको उपमहानगरले जनाएको छ । रोजगार संयोजक चन्द्र महराले ३० दिनको तालिमपछि आयोजित रोजगार मेलामा रोजगारदाताबाट १४५ जनाको माग आएको बताए । रोजगारीका लागि १३६ जनाले अन्तर्वार्ता दिइसकेको उनले बताए । उनले २१ जनाको छनोट भइसकेको महराले बताए।
मेलामा सहभागी मध्ये स्वरोजगार हुन चाहने २१६ जनालाई पाँच दिने उद्यमशीलता विकास तालिम पनि दिइएको महराले बताए । उनले २२३ जना पाँच दिने रोजगार परामर्श दिइएको बताए ।
समापन कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले मेलाले बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुर्याउने बताइन्। उनले तालिम प्राप्त गरेका युवायुवतीले रोजगार तथा स्वरोजगार गरी आत्मनिर्भर बन्ने बताइन् । उनले तालिमबाट प्राप्त सीपको सदुपयोग गरी आत्मनिर्भर बन्न र स्वरोजगार सिर्जना गर्न सहभागी युवायुवतीलाई आग्रह गरिन् ।
प्रतिक्रिया