कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट २१७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
आँखासम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा पुगेका १० महिला र १३ पुरूषमा मोतिया बिन्दुको समस्या देखिएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतिया बिन्दु भएका बिरामीको निःशुल्क रूपमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको शुक्लाफाँटा–९ वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।
मोतिया बिन्दु भएका बिरामीको धनगढी नेत्रालयले निःशुल्क रूपमा शल्यक्रिया गर्नेछ । शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा उपलब्ध गराइनेछ भने बिरामीलाई औषधि र चश्मा निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको वडाध्यक्ष ऐरले बताए । शिविरमा आँखा उपचारका लागि पुगेकामध्ये ३२ जनालाई निःशुल्क रूपमा चश्मा उपलब्ध गराइएको छ । अन्य बिरामीलाई निःशुल्क रूपमा औषधि र आवश्यक परामर्श दिने कार्य गरिएको छ ।
वडा कार्यालयले विगत छ वर्षदेखि निरन्तर रूपमा निःशुल्क रूपमा आँखा शिविर आयोजना गरी वडाका बासिन्दालाई आँखासम्बन्धी सेवा दिँदै आएको छ । हालसम्म वडाका छ सय बढी आँखामा मोतिया बिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको वडाध्यक्ष ऐरले बताए । रासस
प्रतिक्रिया