बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंहमाथि चक्कु प्रहार भएको छ । उनीमाथि सोमबार राति ११ः३० बजेतिरको समयमा चक्कु प्रहार भएको बताइएको छ ।
उनलाई कोठामा बोलाएर विनोद कठायतको समूहले आक्रमण गरेको बताइएको छ । उनको आँखा माथिल्लो भागमा चोट लागेको छ भने उनलाई तत्कालै जिल्ला अस्पताल बझाङ लगिएको थियो । उनी उपचारपछि घर फर्किसकेका प्रहरीले बताएको छ ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले घटनामा २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । मदिरा सेवनपश्चात वादविवाद भई कुटपिट हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
नेपाल पत्रकार महासंघ बझाङले घटनाको घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । महासंघले यो आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भन्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।
प्रतिक्रिया