धनगढी । कैलालीको टीकापुर नगरपालिकामा 'भ्यालेन्टाइन–डे' का दिन १० हजार गुलाफका बिरुवा रोपिने भएको छ । नगरप्रमुख रामलाल डंगौरा थारुले नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको बताए । जसको थालनी भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ मा हुनेछ ।
अभियान अन्तर्गत नगरपालिका तथा वडा कार्यालय परिसर, नगरपालिकास्थित ६ लेन सडकको मेडियन, चिल्ड्रेन पार्क, सरकारी तथा गैरसरकारी कार्यालय परिसर, सार्वजनिक स्थललगायतका स्थानमा नगरवासी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलगायतको सहभागितामा १० हजार गुलाफका बिरुवा रोपिनेछन् । साथै अन्य फलफूलका बिरुवा, मौसमी तथा बेमौसमी सजावटका बिरुवा पनि रोपिने उनले बताए ।
नगरप्रमुख थारुका अनुसार अर्को वर्ष भ्यालेन्टाइन–डेकै दिन संसारभरिकै मानिसलाई टीकापुरमा गुलाफ अवलोकन गर्न आमन्त्रण गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना छ । ३६ प्रजातिका गुलाफ पाइने टीकापुर बृहत् उद्यान पार्कबाट गुलाफका बिरुवा रोप्दै जाने र एक वर्षमा गुलाफको सहर बनाउने पालिकाको परिकल्पना छ । नगरपालिकाले अभियानका लागि १० लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया