धनगढी । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा शुक्रबार गृह मन्त्रालयमा भएको बैठकबाट विमानस्थलको निर्माण अगाडि बढाउने सहमति भएको हो ।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको छ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्नदिन, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाउने सहमतीपछि भएको हो ।
बैठकमा गृहमन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए । सो क्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राखेका थिए ।
२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । हाल एक हजार तीन सय मिटर विमानस्थलको धावनमार्ग कालोपत्रे हुने चरणमा पुगिसकेको छ । विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको छ बिघा जग्गा विमानस्थलले लिने यसअघि सहमती हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो । शुक्रबारको बैठकमा सम्वद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै धावनमार्ग निर्माणको काम तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री लेखकले जानकारी दिए ।
विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि संगै गर्दै जाने विषयमा सहमति भएको छ ।
प्रतिक्रिया