ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महाकाली अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

सोमबार ०५, फागुन २०८१ ०२:२५

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । वेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो । 

अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ र जोखिमपूर्ण भए पनि अस्पततालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताए । 

वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उनको खुट्टा भाँचिएको थियो । 'उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ', देउवाले भने, 'खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ ।'

पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल प्रकारका शल्यक्रिया महेन्द्रनगरमै हुन थालेका छन् । अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर र छ जना डेन्टलले सेवा दिँदै आएका छन् । अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । रासस

प्रतिक्रिया