धनगढी । कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१९ लल्लिपुरबाट सोही ठाउँ बस्ने २७ वर्षीय उपेन्द्र रावल र १६ वर्षीय किशोर ९३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोमबार पक्राउ परेका हुन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरी, धनगढी-१२ 'बी' गाउँबाट 'ए' गाउँ बस्ने ३५ वर्षका शेरबहादुर भण्डारी र २१ वर्षका आशिष ढाँटलाई ८५० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो पदार्थसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
हिजो नै साँझ धनगढी-२ त्रिनगर भन्सार ब्यारेलबाट सुपप्र ०१-०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक धनगढी-५ बस्ने १९ वर्षका विनोद गिरीले हेल्मेटभित्र लुकाएर राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ फेला पारेको प्रहरीले बताएको छ ।
गिरीसहित मोटरसाइकल पछाडि सवार बाजुराको बुढीगंगा नगरपालिका-४ बस्ने २३ वर्षका दिपेन्द्र खातीलाई पनि प्रहरी चौकी त्रिनगर कैलालीको टोलीले नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया