काठमाडौँ । यो आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गएको आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ ।
गृह मन्त्रालयका अनुसार २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको ज्यान मृत्यु भएको थियो । यो वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको मृत्यु भएको छ ।
गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्या बढी देखिएको हो । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गएको असोजमा एक हजार ८७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ । रासस
प्रतिक्रिया