काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई निलम्बित गरेको छ ।
केआईआईटीले विज्ञप्ति जारी गर्दै दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।
विज्ञप्तिमा विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागिपरिएको पनि उल्लेख छ । उक्त कलेजमा अध्ययनरत बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो । सो घटनापछि कलेजमा आन्दोलन भएको थियो भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो ।
भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका नेपाली विद्यार्थीहरूले पुनः होस्टेल फर्केर पठनपाठनमा सहभागिता जनाउनका लागि आठ बुँदे सर्तहरू राखेका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेको र न्याय सुनिश्चित गरेर घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्ने माग आफूहरुको रहेको एक नेपाली विद्यार्थीले बताए ।
त्यस्तै, होस्टल वार्डेन र केआईआईटीका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लङ्घन गरेकाले उनीहरूमाथि समेत अनुसन्धान हुनुपर्ने माग राखेका छन् । पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्ने समेत माग गरेका छन् । नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्ने, छात्रावासभित्र नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्ने होस्टल वार्डेन र होस्टेल डाइरेक्टरलाई समेत कारबाही गर्नुपर्ने माग गरेका छन् ।
विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केआईआईटीको सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्ने समेत माग गरेका छन् । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्ने समेत माग गरेका छन् ।
प्रतिक्रिया