ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अजयमेरु कोटमा उत्खनन् जारी, कोटमै मनाइयो प्रजातन्त्र दिवस

बुधबार ०७, फागुन २०८१ ०५:१६

डडेल्धुरा । डडेल्धुराको अजयमेरु कोटमा ७५औं प्रजातन्त्र दिवस मनाइएको  छ। बुधबार जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा दिवस मनाइएको हो । 

‘अजयमेरु कोटको संरक्षण हाम्रो पहिचान, श्रमको सम्मान र राष्ट्रको अभियान’ भन्ने नाराका साथ दिवस मनाइँदा, उक्त कोटमा भइरहेको पुरातात्विक उत्खननबारे विशेष जानकारी गराइयो । गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टका अनुसार पुरातत्व विभागको टोली २३ दिनदेखि उत्खनन कार्यमा संलग्न रहेको छ । जसका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ विनियोजन गरी प्राविधिक सहयोग गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राजमन्त्री सरस्वती खड्काले अजयमेरु कोटजस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा सबै तहका सरकारको ध्यान जानु पर्ने बताइन् ।

पुरातत्व अधिकृत भास्कर ज्ञवालीका अनुसार उत्खनन कार्यलाई थप सात दिन लम्ब्याइएको छ । उनले भग्नावशेष संरचनाहरूको नम्बरीङ गर्ने काम भइरहेको जानकारी दिए । अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने जनाएको छ ।

प्रतिक्रिया