धनगढी । कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा मतदान सकिएको छ । साढे पाँच लाख मतदाता रहेको जिल्लामा झण्डै ५५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । सबै क्षेत्रमा मतपेटिका मतगणना स्थलमा पुगाउन थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सर्वदलीय बैठकमा सहमति जुटे आजै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत भुवन थापाले जानकारी दिए ।
कैलाली– १ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमै हुने छ । निर्वाचन अधिकृत देवराज भारतीका अनुसार निर्वाचन अधिकृतको कार्यालय सिटी हलमा छ ।
यस्तै, कैलाली क्षेत्र नम्बर २ को मतगणना भने लम्कीचुहा नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय माबि मोतिपुरमा हुने जनाइएको छ ।
कैलाली– ३ को मतगणनाका लागि पनि स्थान तयारी अवस्थामा राखिएको छ । घोडाघोडी बहुमुखी क्याम्पसको चौथो तलामा मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कैलाली– ४ को निर्वाचन अधिकृतको कार्यालयले पनि मतगणना स्थल तोकिसकेको छ । निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मतगणना हुने छ ।
कैलाली– ५ को मतगणना स्थल प्रदेश स्वास्थ्य तालिम केन्द्र धनगढीमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया