ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा बिहे भोजमा झडप, धान कुट्ने मुस्ली प्रहार गरी युवकको हत्या

शुक्रबार ०९, फागुन २०८१ ०८:४४

बाजुरा । बिहे भोजमा झडप हुँदा एक युवकको मृत्युु भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका- ८ मोटाबाडामा दुई समूहबीच झडप हुँदा घाइते भएका सोही नगरपालिकाको ९ नम्बर वडाका २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बिहीबार राती बिहे भोजमा झडप हुँदा थापामाथि मुस्ली (ओखलमा धान कुट्ने हतियार) प्रहार गरिएको थियो । `मुस्ली प्रहारबाट गम्भीर घाइते भएका थापाको शुक्रबार अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो,´ डीएसपी गिरीले भने ।

घटनाका तीन जना आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए । उनका अनुसार पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका- ७ वाइलका दिर्घ बिष्ट, खेम बिष्ट र लोकेन्द्र खड्का रहेका छन् । `बिहे भोजमा आगो ताप्ने क्रममा दिर्घ बिष्टले आफूलाई सबैले दाई भन्नुपर्ने बताएपछि विवाद सुरु भएको बुझिएको छ,´ डीएसपी गिरीले भने, `विवाद बढेपछि थापामाथि मुस्ली प्रहार भएको बताइएको छ । थप अनुसन्धान भइरहेको छ ।´

प्रतिक्रिया