ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम महोत्सवको तयारी तीव्र

पाँच लाखले अवलोकन गर्ने र १५ करोड रुपैयाँको कारोबार हुने अनुमान

मङ्गलबार ११, मङि्सर २०८१ ०५:०२

धनगढी । सुदूरपश्चिम महोत्सव यही मंसिर २२ गतेबाट धनगढीमा सुरु हुने भएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी सुरु भइसकेको जानकारी दिएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सव मुल आयोजक समिति तथा अन्य २९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारीका कामहरु भइरहेको जानकारी दिए । महोत्सवभित्र पाँच सय वटा स्टल रहने र ती स्टलहरुबाट करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए । यस वर्षको महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने संघको अनुमान छ ।

महोत्सव सञ्चालनका लागि करिब तीन करोड खर्च लाग्ने अध्यक्ष कुँवरले बताए । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटेल, सूचना प्रविधिलगायतका स्टलहरु रहने छन् ।

सुदूरपश्चिमका स्थानीय खानाका परिकारका स्टलहरु पनि रहने संघले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन दिइने अध्यक्ष कुँवरले बताए । ‘महोत्सवले सुदूरपश्चिमको आर्थिक विकासका लागि संभावनाहरुको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कलासंस्कृति, भाषा, भेषभुषाको संरक्षणमा टेवा पुग्ने ठानेका छौँ’ अध्यक्ष कुँवरले भने ।

महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको संघका महासचिव ओम बिष्टले जानकारी दिए । प्रधानमन्त्री चीन भ्रमणमा जाने भएकाले महोत्सव उद्घाटनमा आउनेबारे औपचारिक जानकारी आइनसकेको बिष्टले बताए । उद्घाटनमा प्रधानमन्त्री आए उद्घाटनमा सुदूरपश्चिमको विकाससँग सम्बन्धी १० बुँदे मागसहित १० किलोको माला पहि¥याउने संघको तयारी छ ।

ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निशुल्क

संघले महोत्सव प्रवेशका लागि एक सय रुपैयाँ टीकट शुल्क राखेको छ । त्यस्तै विद्यार्थीका लागि ५० रुपैयाँ टीकट निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

संघले महिलाको आर्थिक, सामाजिक सशक्तिकरणका लागि प्रतिटीकट दुई रुपैयाँ र प्रतिटीकट पाँच रुपैयाँ संघको विपद् व्यवस्थापन कोषमा जम्मा हुने जनाएको छ ।

दूरपश्चिमका विकासका संभावनाहरु उजागर गर्ने, यहाँको विकासका लागि राज्यलाई दवाव दिने, स्थानीय कला, संस्कृतिको संरक्षण तथा कृषि, उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ । महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ ।       
 

प्रतिक्रिया