धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको योगदान सह्रानीय रहेको भन्दै प्रशंसा गरेका छन् ।
सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा महाशिवरात्रि तथा २६२औँ नेपाली सेवा दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले प्राकृतिक विपद्, भूकम्प, बाढी पहिरो लगायत महामारीमा पनि नेपाली सेनाले जनताको सुरक्षामा देखिएको भूमिका उत्कृष्ट रहेको बताए ।
विविध सैनिक प्रदर्शन तथा युनिटी रन २०८१ मा सहभागी भएका प्रदेश प्रमुख मियाँले सेनाले राष्ट्रले दिएको जिम्मेवारी कुशलतापूर्वक ढंगले निर्वाह गरेको समेत बताए ।
प्रदेश प्रमुख मियाँले विभिन्न खेल, सैनिक प्रदर्शनी तथा कला संस्कृति प्रदर्शनको माध्यमबाट राष्ट्रिय एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय एकता र विकासमा सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । उनले नेपाली सेना राष्ट्रको गौरवशाली सङ्गठन भएको बताउँदै भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौम सत्ता तथा राष्ट्रिय एकताको रक्षा गर्नु यसको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।
सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले नेपाली सेनाले विभिन्न प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन, जनसुरक्षा, विकास निर्माण तथा संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै जनताको विश्वास जित्न सफल भएको बताए । नेपाली सेना सांस्कृतिक विविधताभित्र एकता कायम राख्दै राष्ट्रसेवामा समर्पित रहेको उनको दाबी थियो ।
कार्यक्रममा पाँच किलोमिटर तथा १० किलोमिटरको पुरुष तथा महिला विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सातै प्रदेशको संस्कृति झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली सेनाले जनताको उद्धार गर्दा तथा युद्धमा सामेल हुँदा प्रयोग गरिने उपकरण तथा साधनहरूको पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया