ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनपी साउदले देउवा समूह छोडेका हुन् ?

मङ्गलबार १३, फागुन २०८१ ०५:४९

धनगढी । ०७८ मंसिरमा भएको नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका दाबेदार थिए एनपी साउद । महामन्त्रीमा चुनाव लड्नकै लागि उनले सम्पर्क कार्यालय पनि खोलेका थिए । सभापति शेरबहादुर देउवाको प्यानलबाट साउदलाई महामन्त्री पदमा उम्मेदवार बनाउन माग गर्दै देउवा निवासमा महाधिवेशन प्रतिनिधि तथा पदाधिकारीले धर्ना नै दिएका थिए । धर्नामा देशभरका करिब तीन सय महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्लाका सभापति तथा पदाधिकारी सहभागी थिए । 

तर संस्थापन अर्थात् देउवा समूहको महामन्त्रीकाे उम्मेदवारमा साउद अटाएनन् । सभापति देउवाले आफ्नो प्यानलबाट प्रदीप पौडेल र प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाए । साउदले योग्य हुँदाहुँदै पनि देउवाले महामन्त्रीमा उम्मेदवार नबनाएको भन्दै सांकेतिक रुपमा असन्तुष्टि पोखे । संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार नबनेका साउदलाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले आफ्नो टिममा आउनका लागि अफर गरेका थिए । तर, साउद केन्द्रीय सदस्यमा निर्वाचन लडे । लाेकप्रिय मतसहित निर्वाचित भए ।

त्यो समयदेखि नै साउदले देउवा समूह छोडेर गुट परिवर्तन गरेको चर्चा चलेको थियो । साउद ०८० वैशाखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री नियुक्त भए । उनको मन्त्रीमा नियुक्तिसंगै गुट परिवर्तनको चर्चा केही समय सेलायो । ०८१ असारमा केन्द्रमा गठबन्धन फेरियो । दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारको सहमति बन्यो । प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बने । नेपाली काँग्रेसले मन्त्रीमा साउदलाई निरन्तरता दिएन । साउदकै जिल्लाका रमेश लेखक गृहमन्त्री भए । लेखक मन्त्री बन्नुअघि पार्टीका प्रमुख सचेतक पनि उनी नै थिए । ‘देउवासंग निकटको सम्बन्ध बनाएर लेखकले लगातार पाएको जिम्मेवारी पनि साउदलाई मन परेको छैन,’ काँग्रेस कञ्चनपुरका एक नेताले भने, ‘देउवाकै समूहमा रहेका दुई नेताबीच टक्कर विगतदेखिकै हो ।’

ओली नेतृत्वको सरकार बनेदेखि साउद सरकारका गतिविधिको खुलेरै विरोध गर्दै आएका छन् । पछिल्लो समय अध्यादेशबाट सत्ता चलाएको र सामाजिक सञ्जालमा अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै साउदले सरकारको खुलेरै विरोध गरेका छन् । उनका अभिव्यक्ति १५औं महाधिवेशनमा सभापतिमा चुनाव लड्ने घोषणा गरिसकेका डा. शेखर कोइरासंग मिल्दोजुल्दो हुन्छन् । साउदका यस्ता अभिव्यक्तिले उनले गुट फेरेको चर्चा चुलिएको छ । 

साउद काँग्रेसको राजनीति सुरुवात गरेको आधारमा डा. कोइरालाभन्दा सिनियर हुन् । ०५९ सालमा वर्तमान सभापति देउवाले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा केन्द्रीय सदस्य बनेका साउद अहिलेसम्मै केन्द्रीय सदस्य छन् । डा. कोइराला भने २०६२ भदौमा भएको ११औँ महाधिवेशनपछि मात्रै केन्द्रीय समितिमा आएका हुन् । तर, अहिले केन्द्रीय समितिमा कोइरालाको वरीयता २६औँ र साउदको ३९औँ नम्बरमा छ । 

पार्टी राजनीतिमा सिनियर रहेका साउद विगतमा कोइराला प्रमुख अतिथि भएको कार्यक्रममा सहभागी हुने गरेका थिएनन् । तर, पछिल्ला दुई कार्यक्रममा भने उनी सहभागी भएका छन् । २८ माघमा भक्तपुरमा आयोजना गरेको ‘राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी आयोजना गरिएको थियो । कार्यक्रममा कोइराला प्रमुख अतिथि थिए । ६ फागुनमा प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा पनि डा. कोइराला प्रमुख अतिथि भएको कार्यक्रममा साउद सहभागी थिए । 

साउदको दुई कार्यक्रममा भएको सहभागिताले उनले देउवा समूह छोडिसकेको बताउँन थालिएको थियो । तर, १४औँ महाधिवेशनमा सभापतिमा देउवालाई सहयोग गर्ने ११ नेताहरूको बैठकमा पनि साउद सहभागी भइदिए । उक्त बैठक २ फागुनमा भएको थियो ।

‘त्यो बैठकमा सहभागिता जनाएर साउदले गुट परिवर्तन नगरेको संकेत दिन खोजेको बुझ्न सकिन्छ,’ काँग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘तर, १५औं महाधिवेशनमा देउवा आफू सभापतिको उम्मेदवार हुन नपाउने भएकाले साउद देउवाले भनेको व्यक्तिलाई सहयोग गर्ने पक्षमा भने छैनन् । देउवा वेटिङ पीएम भएकाले मात्रै साउदले गुट परिवर्तन नगरेको संकेत दिएका हुनसक्छन् ।’ यसबारे केन्द्रीय सदस्य साउदले भने बोल्न मानेनन् । ‘यो विषयमा अहिले केही पनि बोल्दैन,’ साउदले अगग्रलेखलाई भने । 

को हुन् साउद ?
साउदको पुर्खेउली घर सभापति देउवाकै गृहजिल्ला डडेल्धुरा हो । उनी हाल कञ्चनपुरका स्थायी बासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र र समाजशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका साउदले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । ०४८ सालमा उनी नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए । 
०५९ सालमा देउवाको नेतृत्वमा काँग्रेस विभाजित भएर बनेको काँग्रेस (प्रजातान्त्रिक)मा उनी केन्द्रीय सदस्य भए । काँग्रेस (प्रजातान्त्रिक)को ११औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य बनेका थिए । ०६४ सलामा पार्टी एकता भएपछि पनि उनी केन्द्रीय सदस्यकै रुपमा रहे । 

एकीकरणपछिको १२औं र १३औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य भएका थिए । ०५६ सालको आम निर्वाचनमा कञ्चनपुर–२ बाट सांसद बनेका उनी ०५७ साललामा शिक्षा राज्यमन्त्री भएका थिए ।

०७० सालको चुनावमा कञ्चनपुरको सोही क्षेत्रबाट संविधानसभा सदस्य बनेका उनी सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइमन्त्री बनेका थिए । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी बाम गठबन्धनसंग पराजित भए । ०७९ सालको निर्वाचनमा विजयी भएका उनी ०८० बैशाखमा प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए । 
 

प्रतिक्रिया