धनगढी । सुदूरपश्चिमबाट ११ जना समानुपातिक सांसद बन्ने भएका छन् । थ्रेस होल्ड कटाएर समानुपातिकमा सिट पाएका राजनीतिक दलहरूले बन्द सूचीमा रहेका नाम छानेर निर्वाचन आयोगमा बुझाउँदा सुदूरपश्चिमका ११ जना अटाएका हुन् ।
रास्वपाले सुदूरपश्चिमबाट छ, नेकपाले तीन तथा नेपाली कांग्रेस र एमालेले एक /एक जनालाई सांसद बनाउन आयोगलाई नाम पठाएको छ । प्रत्यक्षमा प्रदेशमा रहेका १६ मध्ये १० सिटमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा सुदूरपश्चिमका छ जनालाई समेटेको छ ।
रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । उक्त सूचीअनुसार खसआर्य महिलाको पहिलो नम्बरमा कञ्चनपुरकी प्रतिभा रावलको नाम छ । सोही क्लस्टरमा डडेल्धुराकी आकृती अवस्थी, अछामकी टीक संग्रौला र रत्ना थापा पनि अटाएकी छिन् । संग्रौला र थापा पिछडिएको क्षेत्रबाट सांसद बन्न लागेका हुन् ।
यस्तै थारु महिला क्लस्टरबाट रास्वपाले कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीको नाम पनि समेटेको छ ।
प्रत्यक्षमा निल भएको नेपाली कम्युनिस्ट पार्टीले भने सुदूरपश्चिमबाट समानुपातिकमा तीन जनालाई सांसद बनाउने भएको छ । थारु महिलामा कञ्चनपुरकी निराशा चौधरी, अपाङ्गतामा कैलालीका प्रेम बयक र दलित क्लस्टरमा बझाङका गणेशबहादुर बिकलाई नेकपाले सांसद बनाउन निर्वाचन आयोगलाई नाम पठाएको हो ।
प्रत्यक्षतर्फ प्रदेशभर तीन/तीन सिट जितेका नेपाली कांग्रेस र नेकपा एमालेले भने समानुपातिकका सुदूरपश्चिमका एक/एक जनालाई मात्रै सांसद बनाउने भएका छन् । कांग्रेसले दलित महिलाको क्लस्टरबाट डडेल्धुराकी हरिनादेवी कामी र एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानालाई सांसद बनाउन आयोगमा नाम पठाएको छ ।
थ्रेस होल्ड कटाएका अन्य दलबाट भने सुदूरपश्चिमका कसैको नाम पनि समानुपातिक सूचीमा अटाएको छैन ।
प्रतिक्रिया