ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

यसरी भइरहेको छ वैदेशिक रोजगारीका नाममा ठगी

बिहिबार २२, फागुन २०८१ ०५:०२

टीकापुर । वैदेशिक रोजगारीका नाममा युवाहरु ठगिने क्रम बढेको छ । एकपछि अर्को गर्दै यस्ता ठगीका घटना बाहिरिन थालेका छन् । टीकापुर नगरपालिका–१ खक्रौला रोड नजिकै इन्फिनिटी एच आर सोलुसन प्रालि नामक संस्था खोलेर एक व्यक्तिले धेरै युवाहरुलाई ठगी गरेको पाइएको छ । प्रालिका प्रबन्ध निर्देशक भनिएका राम भुवन कुमार साह युवाहरुलाई ठगेर फरार भएका छन् । उनी सप्तरी जिल्लाको साविक भङ्गहा गाविस वडा नम्बर ६ का बासिन्दा हुन । 

१४ जना युवाहरुले ०८१ फागुन ६ गते उनीविरुद्ध वैदेशिक रोजगारीमा ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । उनीहरुले निज साहले युरोपियन मुलुकहरुमा पठाउने भन्दै आफूहरुसँग रकम लगेको निवेदनमा उल्लेख गरेका छन् ।  

युवाहरुले विभिन्न मितिमा साहको नाममा रहेको महालक्ष्मी विकास बैंकको खातामा १५ लाख रुपैयाँ जम्मा गरेको बताएका छन् । पीडितमध्ये टीकापुर नगरपालिका–४ अस्नेहरीका जयबहादुर बोहराले स्वास्थ्य परिक्षणका नाममा थप १०–१० हजार रुपैयाँसमेत दिएको बताए ।

उनले साहको प्रलोभनमा परेर ठगीमा पर्ने युवाहरुको संख्या अझ धेरै हुनसक्ने बताए । उनले आफू लगायत २३ जना युवाहरुको राहदानी अहिले पनि साहसँगै रहेको जानकारी दिए । ‘अरु धेरैले पनि पैसा दिएको हुनसक्छ,’ उनले भने, ‘हामी तत्काल सम्पर्कमा आएका मात्रै हौं ।’ 

साह ०८१ माघ २५ गते टीकापुर छोडेर फरार भएका छन । उनी भारतको राजधानी दिल्लीमा कार्यालयको काम छ भनेर हिँडेको पीडित मध्येकै अर्का टीकापुर नगरपालिका– ३ का भुवन रसाइलीले बताए । ‘मलाई त धेरै कुरा थाहा थिएन । काम छ, दिल्ली जान्छु भन्यो । होला त सोचे,’ उनले भने, ‘अहिले पो थाहा भयो । म त ठगिएको रहेछु ।’

उनी टीकापुरस्थित एक होटलमा सामान्य काम गर्ने कामदार हुन् । उनले साहको बैंक खातामा ०८१ माघ २४ गते एक लाख १० हजार रुपैयाँ जम्मा गरेका थिए । उनले युरोप गएर धेरै पैसा कमाउने लोभमा मेहनत गरेर कमाएको पैसा गुमाउनु परेको दुखेसो पोखे । 

साहले टीकापुर छोडेको अर्को दिन अर्थात् माघ २६ गते समेत टेलिफोन गरेर युवाहरुलाई पैसा जम्मा गर्न भनिरहेका थिए । ती मध्येका छ जनालाई पैसा जम्मा गर्नबाट आफूले रोकेको बोहराले बताए । उनले साह गलत मान्छे हुन् भन्ने कुरा आफूलाई पहिल्यै महसुस भएको बताए ।

साहमाथि शंका लागेर नै उनले संस्थाको बारेमा खोजिनीति गरेका थिए । ‘पान नम्बर मिलेन, संस्था दर्ता भेटिएन,’ उनले भने, ‘यति कुरा पत्ता लगाउदा साह भागिसकेका थिए ।’

साहबाट ठगिएको थाहा पाए्पछि माघ २७ गते युवाहरु जम्मा भएका थिए । उनीहरुले न्यायका लागि एकतावद्ध हुने योजना बनाए । सोही योजनाअनुसार उनीहरुले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छने । प्रशासन कार्यालयले समेत २०८१ फागुन ६ गते नै वैदेशिक रोजगार विभागमा कारबाहीका लागि पत्राचार गरेको छ ।

प्रतिक्रिया