धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । जिप चालक डोटीको सायल गाउँपालिका– ४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बोगटीको सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार जिल्लाको चुरे गाउँपालिका–५ निङलाडीस्थित भीमदत्त राजमार्गमा शनिबार राति डोटीको दीपायलबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो । यस्तै जिपमा सवार अन्य तीन जना घाइते भएका छन् ।
डोटीको दीपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खड्का, सोही ठाउँका २१ वर्षीय सुरेश खड्का र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद घाइते भएका हुन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया