धनगढी । कैलालीको धनगढीमा पत्रकार आर्जु हमालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीका अधिकृतबाट दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले कारबाहीको माग गरेको छ । पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेश समितिले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेका हुन् ।
महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी प्रहरी अधिकृतमाथि छानबिन गरी कानूनी कारबाहीको माग गरेका छन् । यता नेपाल पत्रकार महासंघ, कैलाली शाखाले पनि घटनाको सत्यतथ्य छानविन गरी दुर्व्यवहारमा संलग्न प्रहरीलाई कारबाही गर्न माग गरेको छ । कैलाली सचिव तेजराज भट्टले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।
आइतबार धनगढी उपमहानगरपालिका–८ मा नवनिर्मित सिटी हलको उद्घाटन समारोहको समाचार संकलन गर्ने क्रममा पत्रकार हमालमाथि जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्धा शाखाका इञ्चार्ज तथा इन्स्पेक्टर दर्शन खड्कासहितका प्रहरीहरुले दुर्व्यवहार गरेको आरोप छ ।
हमाल दिनेश एफएम र दिनेशखबर डटकमकी समाचार संयोजक हुन् ।
प्रतिक्रिया