धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई पूर्वराष्ट्रिय फुटबल खेलाडी बेनी खड्काले सहयोग गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ७ गते आयोजना गर्ने अवार्ड कार्यक्रमलाई खड्काले सहयोग गरेका हुन् । पूर्व राष्ट्रिय खेलाडी खड्का सामाजिक कार्यमा पनि सक्रिय छन् ।
राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीको सम्मान कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको खड्काले बताए । उनले अवार्डको निरन्तरता र सफलताको कामना पनि गरे ।
यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९ र १३ ले प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेका छन् । यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ । धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ ।
छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतिक्रिया