टीकापुर । कैलालीको पूर्वी भेगका ठुला चामल उद्योग खण्डहर भएसँगै साना चामल उद्योगसमेत बन्द हुन थालेका छन् । कोरोना कालले निम्त्याएको आर्थिक मन्दीसँगै चामल उद्योगहरुले उत्पादन घटाएका छन् । कतिपय उद्योगहरु बन्द भइसकेका छन् ।
‘यस्तै अवस्था रह्यो भने सबै चामल उद्योग बन्द हुन्छन्,’ टीकापुरस्थित भोजराज खाद्य उद्योगका सञ्चालक अर्जुन भट्टराइले भने, ‘जेनतेन चलाइरहेका छौं । कुन दिन बन्द गर्नुपर्ने हो थाहा छैन ।’
कोरोना कालले आर्थिक मन्दी सृजना गर्यो । त्यही आर्थिक मन्दीले चामल उद्योगका लागि थुप्रै समस्या सृजना गरिदियो । एकातिर बैंकको ब्याजमा वृद्धी भयो भने अर्कोतिर बैंकले ‘सिजनल लोन’ रोकिदियो । बैंककै कारण चामल उद्योगको उत्पादनमा ‘ब्रेक’ लाग्यो । जसले उद्योगीलाई संकटमा पार्ने काम गरेको हो ।
कतिपय समस्या चामल उद्योगी आफैले सृजना गरेको पनि देखिन्छ । उनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, सोही प्रतिस्पर्धाले उधारो फस्नु र आम्दानीलाई अन्यत्र लगानी गर्नु पनि चामल उद्योग संकटमा पर्नुको कारण रहेको उद्योगीहरु नै बताउँछन् । ‘हाम्रा साथीहरुले फाइदा र घाटाको आँकलन गरेनन्,’ बिना फुड प्रोडक्टका सञ्चालक विजय न्यौपानेले भने, ‘अस्वस्थ प्रतिस्पर्धाले पनि समस्या निम्त्यायो ।’
नेपाली चामल उद्योग बन्द हुनुको एक अर्को महत्वपूर्ण कारण पनि छ । जुन कारणले कैलालीको पूर्वी भेगका ठुला चामल उद्योग उहिल्यै खण्डहर बनेका थिए । स्वदेशी उत्पादन बजारमा जाने बेला भारतीय सस्तो चामल भित्रिन्छ । जुन चामलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा नै गर्न सक्दैन । उद्योगीहरु सस्तोमा चामल बेच्न बाध्य हुन्छन् । ‘हामी प्रतिस्पर्धा नै गर्न सक्दैनौं,’ उद्योगी भट्टराइले भने, ‘हाम्रो चामल उधारोमा बेच्नुपर्छ ।’
यसरी सस्तोमा नेपाली बजारमा भित्रिने भारतीय चामल उपभोगका लागि अस्वस्थकर मानिन्छ । स्रोतका अनुसार भारतीय व्यापारीले वर्षौदेखि गोदाममा थन्काएर राखेको चामल नेपाली व्यापारीहरुलाई सस्तोमा बेच्ने गर्छन् । नेपाली व्यापारीले त्यही चामललाई आफ्नो बोरामा भरेर बजारमा पठाउने गरेको पाइन्छ । ‘यो सबै वर्षौदेखि भइराखेको कुरा हो,’ उद्योगी भट्टराइले भने, ‘सबैको मिलेमतोमा बदमासी भइरहेको छ, रोक्ने कसले ?’
कुनैबेला यहाँको चामल धनगढी, नेपालगञ्ज लगायतका बजारमा समेत बिक्री हुन्थ्यो । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा टीकापुरको चामलको राम्रो बजार थियो । त्यहाँ उद्योगीको उधारो समेत फसेको छ । ‘कुनैबेला हाम्रो चामलले राम्रो बजार पाएको थियो, अहिले कारोबार गर्न डर लाग्छ,’ टीकापुर फुड प्रोडक्टका सञ्चालक मुकेश बमले भने, ‘केही हदसम्म उधारोले डुबायो । उधारो दिएको फिर्ता आउने सम्भावना न्यून छ ।’
ठुला चामल उद्योग बन्द भइसकेपछि पनि टीकापुरबाट मासिक ५० हजार क्विन्टल चामल निर्यात हुन्थ्यो । उद्योगीका अनुसार अहिले मुस्किलले हजार–दुई हजार क्विन्टल चामल निर्यात हुन्छ ।
ठुला चामल उद्योग सञ्चालनमा हुँदा भने टीकापुरको चामल स्वदेशमा मात्रै नभई विदेशमा समेत निर्यात हुन्थ्यो । टीकापुरमा चामल उद्योग सञ्चालन भए पनि भण्डारण छिमेकी मुलुक भारतको तिकुनीयाँमा हुने गथ्र्यो । त्यहीबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे ।
तत्कालिन समयमा चामल उत्पादनका लागि कैलालीको पूर्वी क्षेत्र निकै चर्चामा थियो । जिल्लाका प्राय सबै किसानले धान बिक्रीका लागि यस क्षेत्रलाई नै रोज्थे । जिल्लाभरको धान खरिद गर्न पाएपछि चामल उद्योग निकै तिब्र गतिमा चलेका थिए ।
ठुला चामल उद्योगमध्ये अहिले एउटा मात्रै मौरानीया चामल उद्योग सञ्चालनमा छ । आफ्ना बुबाले स्थापना गरेको त्यो चामल उद्योग छोरा नारायण गोयलले जसोतसो चलाइरहेका छन् ।
साविक नारायणपुर गाविसमा रहेका मख्खन बाबु भनेर चिनिने बिरबहादुर राइको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठुला चामल उद्योग हुन् । एउटा उद्योगमा एक घण्टामा २० क्विन्टल चामल उत्पादन हुने गरेको थियो ।
०४६ को राजनीतिक परिवर्तनपछि उत्पन्न घटनाक्रमले ठूला चामल उद्योगहरु बन्द हुन थाले । दुर्गा राइस मिल २०४६ कै आसपासमा बन्द भयो । २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए । त्यही आसपासमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो । उद्योग बन्द भएसँगै सबै व्यवशायीहरु विस्थापित भए ।
प्रतिक्रिया