धनगढी । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका हुन् । त्रिविअन्तर्गतको उक्त क्याम्पसमा विवाद हुँदा शनिबार मात्रै मतदान भएको थियो ।
आइतबार सार्वजनिक मत परिणामअनुसार गौतम ६७० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी अखिल (क्रान्तिकारी)का गणेश भण्डारीले ४२८ मत ल्याए । क्रान्तिकारीले पनि विभिन्न तीन संगठनसंग मिलेर प्यानल बनाएको थियो । यस्तै, सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रविण सिंह ५५५ मत ल्याएर विजयी भए ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका भुवनराज जैशीले ४९० मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए । अखिल (क्रान्तिकारी)की यालिशाकुमारी कुँवर ४१६ ल्याइन् ।
घोडाघोडी क्याम्पसमा अनेरास्ववियु पहिलोपटक विजयी भएको हो । २०७३ र ०७९ मा भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी)का उम्मेदवार विजयी भएका थिए ।
०७३ मा क्रान्तिकारी जीवन बिसी र ०७९ मा प्रेमबहादुर बोगटी स्ववियु सभापतिमा विजयी भएका थिए । त्यसअघि ०६५ मा भएको स्ववियु निर्वाचनमा नेविसंघका चतुर्भुज ओझा स्ववियु सभापतिमा विजयी भएका थिए ।
प्रतिक्रिया