धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि अब छ दिन मात्रै बाँकी छन् । उम्मेदवारले चुनावी प्रचार गर्न पाउने अवधि त चार दिन मात्रै बाँकी रहेको छ । निर्वाचन नजिकिदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघनका घटना पनि बढ्दै गएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको बुँदा नम्बर ४ (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमका सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नहुने उल्लेख छ । आयोगले उक्त प्रावधानमार्फत प्रचारप्रसारलाई निश्चित दायराभित्र राखेर अनावश्यक प्रतिस्पर्धा, खर्च वृद्धि तथा मतदातामाथि प्रभाव पार्ने सामग्रीको प्रयोग नियन्त्रण गर्न खोजेको छ ।
तर, धनगढीमा आचारसंहिताविपरीत उम्मेदवारको फोटो अंकित टिसर्ट खुलेआम बिक्री भइरहेको छ । होली पर्वका लागि पनि उम्मेदवारको फोटो अंकित टिसर्ट व्यापारीहरुले बिक्रीका लागि राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) फोटो राखेर व्यवसायीहरु टिसर्ट बिक्री गरिरहेका हुन् ।
केही पसलहरूमा त निर्वाचन चिन्हसहितका डिजाइन छापिएका टिसर्टहरू सजाएर राखिएको भेटिएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले उम्मेदवारको फोटो अंकित टिसर्ट बिक्री–वितरण तथा प्रयोग गर्न नमिल्ने स्पष्ट पारे । उनका अनुसार आचारसंहिताविपरीत सामग्री बजारमा बिक्री भइरहेको पाइएमा अनुगमन गरी आवश्यक कारबाही गरिनेछ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन संयोजक किरण जोशीले पनि यस्तो कार्य नगर्न सचेत गराएकी छन् ।
प्रतिक्रिया