टीकापुर । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज पहिलोपटक दीक्षान्त समारोह सम्पन्न भएको छ । दिक्षान्त समारोहमा सि.सं. २३७ (ञ) अन्तर्गतर्का एक सय २४ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन ।
उनीहरुले विगत ११ महिनादेखी जारी आधारभूत तालिम पूरा गरेका छन् । तालिम पूरा गरेसँगै उनीहरु सशस्त्र प्रहरी जवानका रुपमा संगठनले दिएको जिम्मेवारीमा खटिने शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक नरेन्द्र सेनले जानकारी दिए ।
सो अवसरमा तालिममा सर्वोत्कृष्ठ हुने कञ्चनपुरका खुशीराम डगौरालाई पुरस्कृत गरिएको छ । यस्तै, अन्य तीन जनालाई विभिन्न विधागततर्फ पुरस्कृत गरिएको छ । विधागततर्फ पुरस्कृत हुनेमा कवाचतर्फ टेकराज नेपाली, दौडतर्फ नविन शाही र फायरिङतर्फ गोपीलाल चौधरी रहेका छन् ।
उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले पुरस्कार प्रदान गरेका छन् ।
दीक्षान्त समारोहमा बोल्दै प्रहरी नायब महानिरीक्षक अधिकारीले दीक्षित हुने सशस्त्र प्रहरी जवानले अनुशासित र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सदैव देश र जनतालाई सर्वोपरी मानेर काम गर्नुपर्ने बताए ।
‘व्यक्तिगत स्वार्थभन्दामाथि उठेर सदैव देश र जनतालाई शिरमा राख्नु हुनेछ,’ उनले भने, ‘संगठनको गरिमा जोगाउने जिम्मेवारी काँधमा आएको छ । सोहीअनुसार धर्म र कर्म निभाउन निर्देशन दिन्छु ।’
समारोहमा धन्यवाद व्यक्त गर्दै शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक सेनले राष्ट्रको सन्ततीका रुपमा आफूलाई चिनाउने जिम्मेवारी आएको बताए । ‘अब तपाईहरु राष्ट्रको सन्तती हो,’ उनले भने, ‘तपाईहरुको परिवार संगठनको परिवार हो ।’
उनले पहिलोपटक टीकापुरमा दीक्षान्त समारोह आयोजना गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले आफू प्रहरी उपरिक्षक रहेको बेला शिक्षालयको संस्थापक समादेशकका रुपमा यस्तो तालिम सञ्चालन गर्न खोज्दा सम्भव नभएको सुनाए ।
उनले वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक भएर आएपछि मात्र आफ्नो योजना सम्भव हुन सकेकोमा खुशी महशुस भइरहेको बताए । उनले आगामी दिनमा समेत यस्ता तालिमले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया