धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माण अन्तिम चरणमा पुगे पनि सो सडकमा पर्ने तीन वटा पुला निर्माणको सुरसार भने गरिएको छैन । पूर्वाधार विकास कार्यालयले ५१ करोड ६८ लाख ७८ हजार ६४१ रुपैयाँ खर्च गरेर कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २.३ किलोमिटर सडक चार लेन निर्माण गरिरहेको छ ।
तर सडकमा पर्ने कैलाली नाला, सुकुटी नाला र सेतोपुल खोलामा पुल निर्माणको कुनै योजना बनेको छैन । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार त्यसको लागि न कसैले चासो दिएको छ न त कुनै योजना नै बनेको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्म कैलाली नाला, जिल्ला प्रहरी कार्यालयको छेउमा सुकुटी नाला र सेतोपुल खोला छ । ती खोला धेरै पहिले बनेको कमन लेनको पुल छ ।
सडकको चौडाइ र धनगढीको ट्राफिक व्यवस्थापनको आधारमा ती खोलाहरुमा चार लेनकै पुल आवश्यक भएको छ । सडक बनाइसकेपछि पूर्वाधार विकास कार्यालयले नै सो सडकमा पर्ने पुलहरु पनि बनाउनुपर्ने हुन्छ । तर, ती खोलाहरुमा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले लागत इस्टिमेट, वातावरणीय अध्ययन, विस्तृत परियोजना प्रतिवेदन केही पनि बनाएको छैन । कार्यालयका प्रमुख इञ्जिनियर रामचन्द्र खत्रीले मेन रोडमा रहेका खोलाहरुमा पुल बनाउनका लागि कुनै पनि योजना नरहेको बताए ।
उपमहानगरपालिकाको आग्रहमा कैलाली पुलदेखि क्याम्पस रोडसम्मका घरधनीहरुले सडक विस्तारका लागि आफ्नो घर आफै भत्काएका थिए । धनगढीको मेन रोडलाई चार लेनमा विस्तार गर्नका लागि पहल गरेको धनगढी उपमहानगरपालिकाले समेत ती पुलहरु निर्माणको लागि पहल गरेको छैन ।
धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख इञ्जिनियर द्विजराज भट्टले ती खोलाहरुमा पुल निर्माणका लागि सडक निर्माणकै समयमा अनुरोध गरिएको बताए । प्रदेश सरकारले नै ती पुलहरु निर्माण गर्नुपर्ने बताउँदै उनले अहिलेसम्म पूर्वाधार विकास कार्यालयले योजना, लागत अनुमान, पुलको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको हुनुपर्ने बताए ।
पूर्वाधार विकास कार्यालयले केएस कन्स्ट्रक्सन प्रालिलाई ०८२ बैशाख २६ गतेभित्रै निर्माण सम्पन्न गर्ने सर्तमा ०८० बैशाख २६ गते मेन रोड निर्माणको ठेक्का दिएको थियो । केएसले तोकिएकै मितिमा सक्ने गरी काम गरिरहेको छ । हालसम्म सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने फुटपात, रंगरोगन र लाइटिङ लगायतको काम बाँकी छ । यी सबै काम असार मसान्तसम्म सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका साइड इञ्चार्ज हर्क जोशीले बताए ।
कार्यालयले निर्माण कम्पनीलाई फागुन मसान्तसम्म ६० प्रतिशत भौतिक निर्माण भएको मुल्यांकन गरी ३१ करोड १५ लाख २६ हजार ६३९ रुपैयाँ भुक्तानी गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको १० करोड ५० लाख रुपैयाँसमेत भुक्तानी गरिसकेपछि बाँकी भुक्तानीका लागि बजेट अभाव हुने कार्यालयले जनाएको छ ।
कैलाली नालाकै पुलको योजना अस्वीकृत
कैलाली नालामै धनगढीको वडा नम्बर १ र २ जोड्ने अर्को पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयमा ४० लाख रुपैयाँ नेपाल सरकारबाट ससर्त अनुदान आएको थियो । तर, प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले सो पुल निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृति नदिएपछि सो योजना कार्यान्वयन नहुने भएको छ ।
पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार सो पुल निर्माणका लागि गत वर्षसमेत संघबाट ससर्त बजेट आएको थियो । ४० लाखमै सो पुल बन्न नसक्ने र बहुवर्षीय स्वीकृत नभएको कार्यान्वयन हुन नसकेको कार्यालय प्रमुख खत्रीले बताए ।
प्रतिक्रिया