धनगढी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शनिबार बुटवलमा भेटवार्ता भएको छ । भेटवार्तामा संघीयता कार्यान्वयन र प्रदेशस्तरीय समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
मुख्यमन्त्री आचार्यले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेशहरूबीचको असल अभ्यास र सिकाइ आदानप्रदान गर्न जोड दिए । उनले प्रदेश सरकारलाई बलियो बनाउन अधिकार प्रत्यायोजन, नीति कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जानकारी दिए । "समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश" को लक्ष्य प्राप्तिका लागि सरकारले नीतिगत सुधार गर्दै ऐन तथा कानुन कार्यान्वयनमा विशेष ध्यान दिएको उनको भनाइ थियो ।
भेटवार्तामा प्रदेशहरुबीचको सहकार्यलाई सुदृढ गर्दै विकास परियोजनाहरूलाई अगाडि बढाउन साझा नीति अवलम्बन गर्ने सहमति पनि भएको छ । विशेषगरी, ठूला पूर्वाधार परियोजना सञ्चालन, सीमावर्ती क्षेत्रको विकास, प्राकृतिक स्रोतको संरक्षण र प्राकृतिक प्रकोपको न्यूनिकरणका लागि सहकार्यलाई प्राथमिकता दिने विषयमा दुवै पक्षबीच समझदारी बनेको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशहरूबीच समन्वय र सहकार्यलाई थप गति दिन आवश्यक रहेको उल्लेख गरे । उनले विकासका लागि सामूहिक प्रयास र समन्वय नै संघीयता सफल बनाउन महत्वपूर्ण हुने धारणा राखे ।
मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा प्राकृतिक स्रोतको साझा उपयोग, आपतकालीन उद्धार, र सामाजिक मुद्दाहरूमा सहकार्यका साथै दीर्घकालीन रणनीतिको विकासमा सहमति जुटाइएको छ । यो भेटवार्ताले संघीयता कार्यान्वयनको प्रक्रिया सुदृढ गर्दै प्रदेशहरूबीच सहकार्यका नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया