धनगढी । सुदूरपश्चिमका पाँच स्थानमा मतदान भइरहेको छ । पाँच वटै स्थानमा साढे १२ बजेसम्म २७ प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा वडा अध्यक्ष पदका लागि मतदान भइरहेको हो ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनसार अहिलेसम्म एक हजार सात सय छ सय मत खसेको छ । मतदान शान्तिपूर्ण रुपमा भइरहेको भट्टले जानकारी दिए । त्यहाँ सात हजार चार सय ६० मतदाता छन् । यस्तै, स्वामीकार्तिकमा मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिए । उनका अनुसार त्यहाँ प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलको नेतृत्वमा पाँच सय प्रहरी खटाइएको छ । स्वामीकार्तिकमा नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षका लागि मतदान भइरहेकोमा अहिलेसम्म एक हजार तीन सय ४८ मत खसेका छन् । त्यहाँ पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए । भीमदत्त –६ मा पाँच हजार चार सय ३४ मतदाता छन् । वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट प्रकाश चन्द, एमालेबाट बहादुर चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक उम्मेदवार छन् ।
दार्चुलाको दुहु गाउँपालिका–५ मा बिहान ७ः१० देखि मतदान सुरु भएकोमा शान्तिपूर्ण रुपमा जारी छ । अहिलेसम्म तीन सय ९५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। त्यहाँ एक हजार दुई सय ७२ मतदाता छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार चुनावी मैदानमा छन् ।
डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार पाँच सय ९३ मतदाता छन् । त्यहाँ अहिलेसम्म तीन सय ४२ मत खसेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए । त्यहाँ एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी कुमारी खड्का मैदानमा छन् ।
यस्तै, बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार पाँच सय ५४ मतदाता छन् । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अहिलेसम्म ८ सय २६ मत खसेको छ । वडाअध्यक्ष पदको लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहराको उम्मेदवारी छ ।
प्रतिक्रिया