धनगढी । डडेल्धुरामा अटोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका– ८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिँदा चार वर्षीय बालक विवेक बिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठका अनुसार बिहीबार अपराह्न सडकमा हिँडिरहेका बिकलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल– ८ गोदाम नजिक ठक्कर दिएको थियो ।
ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बालक विवेक आमा ज्योती श्रेष्ठ बिकसँगै पैदल हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिएको बताइएको छ ।
दुर्घघटनामा थप दुई जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ। अटो चालक भने फरार छन् ।
प्रतिक्रिया