धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत लागुऔषध नियन्त्रण जस्ता विविध विषयमा शुक्रबार उनले छलफल गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
छलफल विशेष गरी सीमा क्षेत्रमा बढाइएको सुरक्षा निगरानीका विषयमा केन्द्रित थियो । छलफलमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले लागुऔषध प्रयोगकर्ताभन्दा त्यसका कारोबारीलाई समात्ने गरी रणनीति बनाइएको मुख्यमन्त्रीलाई अवगत गराएका थिए ।
छलफलमा विभागीय मन्त्रीहरू, विभागीय सचिव, प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो । सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बरबहादुर विक, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक–सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीका प्रमुख, राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेशका प्रदेश कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया