ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर प्रयोगशालाका पूर्वइञ्चार्ज भन्छन्– थन्काएर राखेको केमिकल अहिले प्रयोग गरियो

मङ्गलबार ३०, बैशाख २०८२ ०४:५४

टीकापुर । टीकापुर अस्पतालको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग गरेको आरोप लागेपछि प्रयोगशालाका पूर्वइञ्चार्ज गणेश ऐरले आरोप अस्विकार गरेका छन् । उनले आफू इञ्चार्ज हुँदा म्याद सकिएपछि थन्काएर राखेको केमिकल अहिले प्रयोग भइरहेको देखेपछि आफैले माथिल्लो निकायमा जानकारी दिएको बताए । 

उनलाई ०८१ माघ २ गते इञ्चार्जबाट हटाइयो । त्यसपछि उनी प्रयोगशाला अन्र्तगतकै रिपोर्टिङ फाँटमा कार्यरत छन् । उनका अनुसार एकदिन थन्काएर राखेको केमिकल प्रयोग भइरहेको भेटियो । उनले प्रयोग नगर्न सुझाव दिँदा धम्कीको सामना गर्नु परेको गुनासो गरे । 

उनले यसबारेमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुको ग्रुपमा जानकारी दिएको बताए । उनले त्यसपछि मात्रै अस्पताल विकास समितिका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको ग्रुपमा सो बारेमा जानकारी गरेको बताए । 

उनका अनुुसार सो केमिकल ५०० थान वयश्क र ५०० थान बालबालिकाका लागि मगाइएको थियो । त्यसको म्याद ०८१ असारसम्म थियो । त्यतिञ्जेलसम्म ५०÷६० थान बचेको थियो । ‘म्याद सकिएपछि प्रयोग गर्ने कुरा भएन,’ उनले भने, ‘मैले प्रयोग नगर्ने भनेर थन्काएर राखेको थिए ।’

उनले पुस अन्तिम सातासम्म थप केमिकल मगाएर काम गरेको बताए । त्यसपछि आफूलाई पूर्वाग्रही ढंगले इञ्चार्जबाट हटाइएको दुखेसो उनको छ । उनले आफूलाई हटाएर सेवाकालिनमा आएको व्यक्तिलाई इञ्चार्ज बनाएको बताए । ‘जहाँ पनि काम गर्नु त हो भनेर चुपचाप काम गर्दैछु,’ उनले भने, ‘यो ठाउँमा धेरै राजनीति हुँदो रहेछ । म बाहिरबाट आएको भनेर विभेद भइरहेको छ ।’ 

उनी सामाजिक विकास मन्त्रालयका करार कर्मचारी हुन् । उनी ल्याब टेक्नोलोजी सातौ तहको कर्मचारी हुन् । उनी ०७९ बाट टीकापुर अस्पतालमा कार्यरत छन् । 

उनले आफूपछि इञ्चार्ज भएका मरिचमान भूलले नै म्याद सकिएको केमिकल प्रयोग गरेको बताएका छन् । भूलले अभावका कारण सो केमिकल प्रयोग गरेको स्वीकार गरेका छन् । तर, भूलले ऐरकै पालादेखि प्रयोग भइरहेको आरोप लगाएका थिए । ऐरले भने आफूले म्याद सकिएपछि थन्काएर राखेको अवस्थामा भूलले नै प्रयोग गरेको पाइएको बताए । 

इञ्चार्ज भूलले केमिकलको म्याद सकिए पनि त्यसको रिपोर्ट भने सही हुने गरेको दाबी गरेका छन् । 
 

प्रतिक्रिया