धनगढी । कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगलबार गोदावरी नगरपालिका– १ मा कोठा भाडामा बस्दै आएकी २४ वर्षीया चन्द्रा आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन् ।
आचार्यलाई सुरक्षित प्रसूति गराउन प्रहरी जवान चन्द्रिका देउवाले सहयोग गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रसंशा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरे । ‘बाटोमा व्यथा लागेर छट्पटाइरहेकी महिलालाई प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले प्रहरी जवान देउवालाई पुरस्कृत गरिएको हो,’ एसपी राणाले भने ।
मंगलबार बिहान बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई प्राप्त भएको थियो । महिला बिरामी रहेको खबर पाएपछि खैराना प्रहरी चौकीबाट प्रहरी हवल्दारसहित प्रहरी जवान देउवा त्यहाँ पुगेकी थिइन् ।
व्यथा लागेको अवस्थामा भेटिएकी चन्द्राले बाटोमै छोरालाई जन्म दिएकी थिइन् । सो क्रममा प्रहरी जवान देउवाले सघाएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । बाटोमै छोरा जन्माएकी चन्द्राको उद्वारका लागि पदमा अस्पतालका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको टोली पनि त्यहाँ पुगेको थियो ।
प्रहरीका अनुसार चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सुर्खेतको भेरीगंगा नगरपालिका – ८ की चन्द्राले बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन् ।
प्रतिक्रिया