धनगढी । एसिसी पुरुष यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन् ।
यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन् । हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा गरिएको प्रदर्शनका आधारमा खेलाडीलाई टोलीमा समोवश गरिएको बताइएको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी थिए । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा जेठ १९ गतेदेखि सुरु हुँदैछ ।
यस्तै सुदूरपश्चिमको टोली छनोटमा आर्थिक चलखेल भएको आरोप लागेको छ । डडेल्धुरा जिल्ला क्रिकेट संघले टिम छनोटमा गम्भीर आपत्ति जनाएको हो । जिल्ला अध्यक्ष हरिप्रसाद उप्रेतीले प्रेस विज्ञप्ति जारी गर्दै निष्पक्षता र पारदर्शी छनोट प्रक्रिया सुनिश्चित गर्न माग गरेका छन् ।
संघका अनुसार डडेल्धुराबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू सुवेशसिंह रावल, एसकुमार कठायत र लोकेश चन्दमध्ये मात्र एक जनालाई समावेश गरिएको छ ।
प्रादेशिक छनोटमा डडेल्धुरा टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरे पनि योग्य खेलाडीहरूलाई टिममा नसमेटिएकोमा संघले टिम छनोटकर्तामाथि गम्भीर आरोप लगाएको छ ।
संघले यो निर्णयले खेलाडीहरूको मनोबलमा गहिरो असर परेको, भविष्यप्रति आशावादी खेलाडीहरू निराश भएको र छनोट प्रक्रियामा चिनजान, भनसुन र पैसाको चलखेल भएको आशंका व्यक्त गरेको छ ।
प्रतिक्रिया