धनगढी । अनुकूलका सूचना तथा समाचारहरु विभिन्न माध्यमहरुबाट सार्वजनिक गर्दै आएको कैलाली प्रहरी, प्रहरी नै संलग्न रहेका कतिपय गैरकानुनी एवं सार्वजनिक सरोकारका घटनाहरुलाई भने गुपचुप गर्न प्रयास गरिरहन्छ ।
यस्तै, प्रकारको घटना एक साताअघि धनगढीमा भएको छ । हाल महामारीको जालो झै विस्तार भइरहेको लागुुऔषधको सेवनमा एकजना प्रहरी स्वमं संलग्न रहेको भेटिए । ती प्रहरीलाई नसाले लठ्ठ परेकै अवस्थामा जिल्ला प्रहरीकै टोलीले पक्राउ पनि गर्यो । तर उक्त घटना जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले ढाकछोप गरे ।
सुरक्षा स्रोतका अनुसार हसनपुर क्षेत्रबाट पक्राउ परेका ती जवानलाई एक दिन थुनामा पनि राखियो । तर, उनीविरुद्व सर्वसाधारणलाई जस्तो मुद्दा भने लगाइएको छैन । ‘पक्राउ परेका प्रहरी जवानसँग लागुऔषध प्रयोग गर्दा आवश्यक पर्ने सामान पनि भेटिएको थियो,’ स्रोतले भन्यो, ‘तर, उनीसँग लागुऔषध नभेटिएको भन्दै मुद्दा पनि लगाइएको छैन ।’ अहिले उनलाई ड्युटी खटाउन थालिसकिएको स्रोतका भनाई छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंह र प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले पनि घटनाबारे जानकारी दिन इन्कार गरे । ‘प्रहरी जवान लागुऔषधमा पक्राउ परेका छैनन्,’ प्रहरी उपरीक्षक राणाले भने, ‘त्रिनगर प्रहरी चौकीमा कार्यरत पाँच जना प्रहरीले आचरणविपरीत काम गरेको गुनासोपछि भने उनीहरुलाई जिल्ला तानेको छु ।’ लागुऔषध प्रयोग गरेको अवस्थामा भेटिएका जवान पनि त्रिनगर प्रहरी चौकीमै कार्यरत थिए । अहिले उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् ।
प्रवक्ता सिंहले पनि लागुऔषध सम्वद्ध घटनामा कुनै पनि प्रहरी पक्राउ नपरेको दाबी गरे । तर सुरक्षा स्रोतले दिएको जानकारीअनुसार लागुऔषध प्रयोग गर्दा पक्राउ परेका ती प्रहरी जवान लागुऔषधका कारोबारी पनि हुन् । ‘उनीबिरुद्व विगतदेखि नै जिल्ला प्रहरीमा गुनासो आउने गरेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘उनका गतिविधिबारे जिल्ला अपडेट थियो ।’
प्रतिक्रिया