ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
लगानी सम्मेलनका लागि प्रि–समिट

‘सुदूरपश्चिम लगानीका लागि भर्जिन क्षेत्र हो’

बुधबार २१, जेठ २०८२ ०७:१९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि प्रि–समिट गरिएको छ । असोज १ र २ गते हुने लगानी सम्मेलनका लागि बुधबार प्रदेश सरकारले तयारी सम्मेलन गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुदूरपश्चिम लगानीका लागि भर्जिन क्षेत्र र निकै बढी सम्भावना बोकेको क्षेत्र रहेको बताइन् । ‘लगानीका लागि भर्जिन क्षेत्र नै हो, यहाँ जुनसुकै क्षेत्रमा पनि लगानी गर्ने वातावरण छ,’ उनले भनिन् । मन्त्री राणाले पछिल्ला केही वर्षमा सुदूरपश्चि प्रदेशमा थुप्रै परिवर्तन भइसकेको बताइन् । ‘पहिलोपटक सुदूरपश्चिम आउँदा चार सय वर्ष पछाडि गएको जस्तो अनुभव हुन्थ्यो,’ उनले भने, ‘अहिले थुप्रै परिवर्तन भइसकेको छ । पहाडमा विकासका धेरै पूर्वाधार पुगेका छन् । तर, बसाइसराइले पहाड रित्तिन थालेको छ ।’

सुदूरपश्चिममा लगानीका लागि हाइड्रोपावर, पर्यटन, कृषिलगायतका क्षेत्रमा अथाह सम्भावना रहेको मन्त्री राणाले बताइन् । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए । ‘सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी हो,’ मन्त्री भण्डारीले भने, ‘प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो । लगानीको गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक छ ।’

मुख्यमन्त्री कमलबहादुर शाहले प्रि–समिटले स्थानीय सरकार, निजी क्षेत्र, विकास साझेदार र संघीय सरकारबीचको सहकार्यलाई संस्थागत बनाउने तथा सुदूरपश्चिमको सम्भावनालाई विश्वसामू उजागर गर्ने अवसर प्रदान गरेको बताए । ‘लगानी तथा विकास सम्मेलनलाई सिर्जनशील रुपमा लगानी प्रवद्र्धन, दीर्घकालीन साझेदारी र दिगो विकासको नयाँ युगतर्फको यात्रा तय गर्ने अठोका रुपमा लिएका छौं,’ मुख्यमन्त्री शाहले भने, ‘विकासका प्राथमिक क्षेत्र पहिचान गर्दै कृषि, पर्यटन, पूर्वाधार, उर्जा, मानव पूँजी, सूचना तथा प्रविधि र सेवा क्षेत्रमा लगानीको बाटो खोल्ने प्रयास हाम्रो हो ।’

लगानी सम्मेलनको आयोजनापछि स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुदूरपश्चिम आउने र प्रदेशमा पनि लगानीमैत्री वातावरण सिर्जना गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले सुदूरपश्चिम लगानीका लागि भर्जिन क्षेत्र रहेको बताउँदै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रि–समिट कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विज्ञ, लगानीकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया