धनगढी । गंगादशहराका अवसरमा कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिरमा मेला लागेको छ । मेला भर्नका लागि बुधबार रातिदेखि नै दर्शनार्थी बेहडाबाबा पुगेका थिए ।
धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा दर्शनार्थीको भिड लागेको हो । राति १२ बजे पूजासहित जल चढेपछि नेपाल, भारतका तीर्थयात्रीहरुले बेहडाबाबाको दर्शन गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए ।
पहिलो दिन जल चढाउने र पूजाआजासहित दर्शन गर्ने कार्य भइरहेको उनले बताए । तीर्थालुहरुको सहजताका लागि पश्चिमबाट लाइन लगाएर पालौपालो दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी, अपाङ्ता भएका व्यक्ति, असहाय र वृद्धवृद्धाका लागि मन्दिरको उत्तर ढोकाबाट प्रवेश दिएर पूजाआजाको व्यवस्था मिलाइएको अध्यक्ष चन्दले जानकारी दिए ।
जेठ २५ गतेसम्म लाग्ने मेलाको करिब एक लाख दर्शनार्थीले अवलोकन गर्ने व्यवस्थापन समितिले जनाएको छ ।
बेहडाबाबा मन्दिरमा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालको बेलाका दिन भक्तजनको भिड हुने गर्दछ । मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले आज स्थानीय बिदा पनि दिएको छ ।
प्रतिक्रिया