धनगढी । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ६ बाम्काका आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ । बुढीगंगाका नगरप्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा गठित राहत संकलन तथा व्यवस्थापन समितिले आगलागी पीडितहरुलाई राहत वितरण गरेको हो ।
आगलागीबाट पूर्ण क्षति भएका १३ जना पीडितलाई तीन लाख रुपैयाँका दरले र आंशिक क्षति भएका नौं जनालाई ५० हजार रुपैयाँका दरले राहत वितरण गरिएको वडा नं. ६ का वडाअध्यक्ष हेमराज जैशीले बताए ।
उनले समितिले जेठ २७ गते गरेको निर्णय बमोजिम आगलागी पीडितलाई सो रकमको चेक नगरप्रमुख बानियाँमार्फत वितरण गरेको बताए । कार्यक्रममा पुनर्निर्माण र राहत संकलनसम्बन्धी प्रस्तुती गर्दै नगरप्रमुख बानियाँले पुनर्निर्माणको कार्य पनि ९५ प्रतिशत सम्पन्न भएको बताए ।
आगलागी प्रभावित व्यक्तिलाई पुरानै अवस्थामा स्थापित गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै वडा नं. ६ को कार्यालयले आगलागी पीडितलाई झोला हस्तान्तरण गरेको वडाध्यक्ष जैशीले बताए ।
गत जेठ २३ गते बाम्का बजारमा भएको आगलागीबाट १३ पसल पूर्ण रूपमा जलेर खरानी भएको थियो भने आगो नियन्त्रणमा लिनका लागि ९ वटा पसल आंसिक रूपमा भत्काइएको थियो । सो घटनाका पीडितलाई राहत पु¥याउनका लागि वडाध्यक्ष हेमराज जैशीको अध्यक्षतामा बसेको आम भेलाले नगरप्रमुख बानियाँको संयोजकत्वमा राहत संकलन तथा व्यवस्थापन समिति गठन भएको थियो ।
समितिले राहात र पुनर्निमार्णका लागि आइतबार बिहान १० बजेसम्म ६७ लाख ८२ हजार ८६८ रुपैयाँ राहत संकलन भएको जनाएको छ । राहत कोषमा सुदूरपश्चिम प्रदेश सरकार, बाजुराका नौं वटै स्थानीय तह र निजी क्षेत्रबाट सहयोग रकम जम्मा भएको हो ।
प्रतिक्रिया