धनगढी । सुर्खेतको वीरेन्द्रनगर रहेको कोपिला भ्याली सेवा समाजद्वारा सञ्चालित कोपिला भ्याली स्कुल वातावरणीय कार्य विधामा पुरस्कार छनोटका लागि विश्वकै शीर्ष १० विद्यालयमा पर्न सफल भएको छ ।
बेलायतकोे शैक्षिक संस्था टी–फोर एजुकेशनले हरेक वर्ष विश्वका शैक्षिक संस्थाहरुलाई यो पुरस्कार प्रदान गर्छ । संस्थाले दिने विभिन्न विधाका पुरस्कारअन्तर्गत सन् २०२५ को लागि वातावरणीय कार्य विधामा विश्वका शीर्ष १० विद्यालयमा कोपिला ध्याली पर्न सफल भएको हो ।
कोपिला भ्याली टी–फोर एजुकेशनले प्रदान गर्ने सामुदायिक सहकार्य, वातावरणीय कार्य, नवप्रर्वतन, प्रतिकूलतामाथि विजय हासिल गर्ने, स्वस्थ जीवनलाई सहयोग गर्ने पाँच विधाका पुरस्कारमध्ये वातावरणीय कार्य विधामा शीर्ष १० मा छनोट भएको कोपिला भ्याली सेवा समाजका अध्यक्ष गोगनबहादुर मल्लले जानकारी दिए ।
यो प्रतियोगितामा नेपालबाट अन्तिम सूचीमा परेको एउटामात्रै कोपिला भ्याली स्कुल भएको उनले बताए । अहिले समुदाय छनोटका लागि सार्वजनिक मतदान सुरु भइसकेकोले मतदानका लागि उनले सबैमा अपीलसमेत गरेका छन् । विश्वकै शीर्ष १० विद्यालयमा पर्नु देशकै लागि गौरवको कुरा भएको उल्लेख गर्दै मल्लले मतदान गरेर १ नम्बर बनाउन आह्वान गरे ।
छनोट भएका उत्कृष्ट १० विद्यालयमध्ये अनलाइनबाट पाउने सबैभन्दा बढी मतका आधारमा विजेता विद्यालय छनोट हुने छ । अनलाइनबाट निशुल्क भोटिङ गर्न सकिने अध्यक्ष मल्लले जानकारी दिए । मतदानका लागि www.kopilavalley.edu.np मा गएर vote for kopila मा क्लिक गरी मतदान गर्न सकिने उनले बताए । मतदान असार २५ गतेसम्म गर्न सकिने विद्यालयले जनाएको छ ।
कोपिला भ्यालीले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अंग बनाउँदै अध्ययन गराइरहेको जानकारी दिँदै अध्यक्ष मल्लले कक्षा १२ सम्मको स्कुल सञ्चालन गरेर अनाथ तथा विपन्न बालबालिकालाई आवाससहित निःशुल्क शिक्षा दिइरहेको बताए । स्कुलमा हाल ४६० बालिका अध्ययनरत रहेको बताए ।
प्रतिक्रिया