धनगढी । सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । कञ्चनपुरमा दुई तथा दार्चुला र बाजुरामा एक/एक जनाको मृत्यु भएको हो ।
बाजुराको बुढीनन्दा नगरपालिका–१ मा बेलिब्रिज पुलबाट खसेर १२ वर्षीय बालकको ज्यान गएको छ । बुढीनन्दा–१ पारतोला बस्ने गणेश भण्डारीका छोरा विशाल भण्डारी बड्डीगाड खोलामा पर्ने बेलिब्रिज पुलबाट खस्दा गम्भीर घाइते भएका थिए । कोल्टीस्थित बुढीनन्दा अस्पतालमा उनको मृत्यु भएको हो ।
यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलामा बाख्रा चराउन गएका एक वृद्धको भीरबाट लडेर ज्यान गएको छ। ५८ वर्षीय आनसिंह बडालको मुस्कुट्टे भन्ने भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
कञ्चनपुरमा बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौडमा सुरज सिंहकी डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले बताए ।
बालिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–१ स्थित हुलाकी सडकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।
डीएसपी बोहराका अनुसार शुक्रबार राति साढे ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ह ४६०४ नम्बरको अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालक पुनर्वास नगरपालिका–२ मोतिबस्ती निवासी ५० वर्षीय दानसिंह धनाडीको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास–४ ‘घ’ गाउँ निवासी २७ वर्षीय महेन्द्र शाही, अटोमा सवार पुनर्वास–२ का २८ वर्षीय गोविन्द सिंह र मोटरसाइकलको पछाडि सवार पुनर्वास–४ निवासी २९ वर्षीय कालु शाही घाइते भएका छन् ।
घाइते महेन्द्र शाही र गोविन्द सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने कालु शाहीको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया