ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

बिहिबार २६, असार २०८२ ०९:२७

‍दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षाका कारण निकुञ्जकोे बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

‘वर्षाका कारण सफारी गर्ने मुख्य ‘रुट’ को सडक बिग्रेको छ’, उनले भने, ‘जसका कारण सफारी गएका गाडी फस्न र पर्यटकले दुःख पाउन थालेपछि बन्द गरेका हौँ ।’ निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्ग किलोमिटरमा विशाल घाँसे मैदान छ । 

उक्त घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । यहाँ हजारौँको सङ्ख्यामा रहेका बाह्रसिङ्गा हेर्न पर्यटक यहाँ आउने गरेका छन् । शान्त वातावरण, ठुलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु हेर्न मिल्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ शुक्लाफाँटा हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ ।

निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ४९ भन्दा बढी प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि छन् ।

स्तनधारी वन्यजन्तुमा ५३ वटा भन्दा बढी प्रजाति रहेका छन् । जसमा पाटे बाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । पछिल्लो गणना अनुसार शुक्लाफाँटामा दुई हजार तीन सय बढी बाह्रसिङ्गा छन् । यसबाहेक बाघ, गैँडा, हात्ती, कृष्णसार, चित्तललगायत वन्यजन्तु यहाँका प्रमुख आकर्षण हुन् । 

प्रतिक्रिया